सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज ‘नानीगौरा’ मनाइएको छ। ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ। आजको दिनलाई स्थानीय भाषामा ‘नानीगौरा’ भन्ने चलन छ। सवाँ, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ।
हिजो भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रहेको सुर्नया गाउँपालिका ६ का हरिना अवस्थीले बताइन्। बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने चलन छ।
पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ। त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए।
दूर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो। भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ। भोलि नै महिलाहरुले धारणा गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रहेको छ। तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन्।
शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रहेको छ। तर यो बर्ष कोरोना कारण गाउँघरमा गौराको रौनक नभएको स्थानीयले बताएका छन्। कोरोनाका कारण सामूहिक रुपमा जमघट नपाएकाले गौराको रौनक नभएको दशरथचन्द नगरपालिका २ कागणेशबहादुर बोहराले बताए। गौराको समयमा सामूहिक रुपमा ठाडो खेल, ढुस्को, धमारी लगायतका सांस्कृतिक खेलहरु खेलिने भए पनि स्थानीय प्रशासनले भीडभाड नगर्न आग्रह गरेको छ।
यसपालि छैन रौनक
गौरापर्वको बैतडीमा खासै चहलपहल छैन। कोरोना महामारीका कारण यो बर्ष गौरामा रौनक नभएको बैतडीका स्थानीयले बताएका छन्। गौरा सामाजिक सद्भावको पर्व भएकाले बसाईसराई गरेर गएकाहरु आउने भए पनि यो बर्ष कोरोनाका कारण अन्य ठाउँका मानिस आउन नसकेको दशरथचन्द नगरपालिका ४ जर्गकाका शिराम पाण्डेयले बताए।
कोरोनाको त्रास कारण गाउँघरमा गौराको रौनक नभएको दशरथचन्द नगरपालिका २ देहीमाडौंका गणेश बोहराले बताए। अरु बर्षजस्तो यो बर्ष गौराको रौनक नभएको उनले बताए। गौराको समयमा विभिन्न खालका सांस्कृतिक खेलहरु खेलिने भए पनि कोरोनाका कारण खेल्नसमेत समस्या भएको उनले बताए। गौराको समयमा अन्य बर्षको तुलनामा बजारहरुमा समेत चहलपहल कम भएको व्यापारीले बताएका छन्। अन्य बर्षको तुलनामा यो बर्ष बजार चहलपहल कम भएको देहिमाडौंका व्यापारी सूर्यबहादुर बोहराले बताए। गौराको समयमा टाढाटाढाका मान्छेहरु आउने भए पनि यो बर्ष त्यस्तो चहलपहल नभएको उनको भनाइ छ।न्युज कारखानाबाट





























प्रतिक्रिया