हामीले प्रत्येक दिन दैनिक गतिविधिको टप फाइब समाचार भिडियोसहित दिने गरेका छौं । प्रस्तुत छ, आजको टप फाइब समाचार।
सरकार गठन भएको डेढ महिनासम्म पनि सत्तारुढ गठबन्धनका घटकहरूबीच मन्त्रालय भागबण्डाको विषय मिल्न सकेको छैन, जसले गर्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवा सरकार अझै असफल नै छ। मन्त्रीमण्डला विस्तारमा देखिएको यो ढिलासुस्तीका कारण प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले परमादेश सरकारले पूर्णता पाउन नसकेको र चाँडै गठबन्धन भत्किने टिप्पणी यसअघि नै गरिसकेका छन्। यद्यपि भदौ १६ गते भित्रमा मन्त्रिमण्डललाई पूर्णता दिने शीर्ष नेताहरूको तयारी रहेको स्रोतले बताएको छ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले मधेसमा कब्जा जमाउने बताएका छन्। मधेसमा अरु पार्टीले नभई माओवादीले कब्जा जमाउँछ, जसले गर्दा मधेस र देशमा पनि बलियो सन्देश जाने उनको जिकिर छ। केन्द्रका अध्यक्ष प्रचण्डले छिट्टै नै प्रदेश १ र बागमतीको सरकार ढल्ने दाबी गरेका छन्। यस्तै सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले भने १४औं महाधिवेशनमा आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काठमाडौं महानगरपालिकाले गत दुई सातायता उपत्यकाको फोहोर उठाउन सकेको छैन। फोहोरकै कारण उपत्यकाको अवस्था निकै दयनीय बन्दै गएको छ। यसै प्रसंगमा रहेर फोहोर व्यवस्थापनका विषयमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरका प्रमुखविच छलफल भएको छ । छलफलमा मेयर शाक्यलाई प्रधानमन्त्री देउवाको तत्काल फोहोर उठाउन निर्देशन दिएका छन् भने, मेयर शाक्यले जथाभावी सडकमा फोहोर नफाल्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफूले एमाले फुटाएको नभई विद्रोह गरेको बताएका छन् । संचारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले सर्जरीपछि विल्कुलै नयाँ जीवन प्राप्त गरेको र बोनसको जीवनलाई सास रहुन्जेल, देश, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विकास, विस्तार र सुदृढिकरणमा लगाउने घोषणा गरेका छन्। दुई महिनादेखि भारतको एपोलो अस्पतालमा उपचारत उनी सोमबार स्वदेश फर्किएका हुन्।
भारतीय राष्ट्रिय फुटबल टोली नेपालसँगको मैत्रीपूर्ण खेलका लागि सोमबार नेपाल आइपुगेको छ । भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय टोली काठमाडौं आइपुगेको हो। दुवै टिम अगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा छन् । यसअघि नेपालले भारतसँग २०१५ मार्चमा दशरथ रंगाशालामा खेलेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८०८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ। नेपालमा आज २ हजार २९५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३९३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ६१ हजार १२४ जना र एन्टीजेन परीक्षणबाट ८३ हजार ३६४ जना पुगेको छ। आज १६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ।
आज १६ हजार २३३ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३९ लाख ६ हजार २९ जनाको पिसिआर र ४ लाख ६५ हजार ८४० जनाको एन्टीजेन परीक्षण गरिएको छ।































प्रतिक्रिया