कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या तीन हजार ७२९ पुग्यो

कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या तीन हजार ७२९ पुग्यो

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।

पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण बढ्न थालेको छ । यद्यपि सरकारी कार्यालयदेखि बाटोघाटो, चियापसल, धारा पँधेरा र सडक लगायत जताततै मान्छेको भीड पनि त्यत्तिकै बढेको देखिन्छ ।

शुरुका दिनहरु जस्तो सावधानी कोही कसैले अपनाएको देखिंदैन । शुक्रबार मात्रै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा ७७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा नौ गरी ८६ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

“बिहीबार पनि कर्णालीमा १०५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो,” उनले भने, “आज ८६ जना थपिएसँगै सङ्क्रमित हुनेको सङख्या तीन हजार ७२९ पुगेको छ।” सङक्रमितमा सुर्खेतका ५३, जुम्लाका सात, दैलेखका छ, कालीकोटका चार, जाजरकोटका दुई र प्रदेशबाहिर १४ जना रहेको उनले बताए। अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङक्रमण पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका १९, स्वास्थ्यकर्मी १२, कर्मचारी आठ, क्वारेन्टाइनमा रहेका छ, सशस्त्र प्रहरी पाँच, एयरलाइन्स कर्मचारी चार, प्रहरी तीन, बिरामी र शिक्षक दुई÷दुई जना रहेका छन् । त्यस्तै, इन्जिनियर, थुनुवा, अटोचालक, कृषकहरु पनि सङ्क्रमण देखिएको छ ।

हाल यहाँ सक्रिय कोरोना सङ्क्रमितको सङख्या ४९२ रहेको जनाउँदै उनले तीन जना घर फर्किएका जानकारी दिए । कर्णालीमा कोरोना जितेर घर फिर्ता हुनेको सङ्ख्या तीन हजार ४५ पुगेको छ । कोरोना महामारीविरुद्ध सरकारले जारी गरेका आवश्यक निर्देशन तथा मापदण्डको पालना नगर्दा पछिल्लो समयमा यहाँ सङ्क्रमणले सबै क्षेत्रमा जोखिम बढाएको छ ।

Logo