पौडेल पक्षले देउवालाई सोध्यो, ‘कांग्रेसले कति मन्त्रालय पाउने?, हाम्रो समूहले कति पाउने?’

पौडेल पक्षले देउवालाई सोध्यो, ‘कांग्रेसले कति मन्त्रालय पाउने?, हाम्रो समूहले कति पाउने?’

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेको छ।

सत्तारुढ चार दलको शीर्ष तहमा मन्त्रालयको बाँडफाँटबारे छलफल भइरहेका बेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो लगाउन पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिने निर्णय गरेको हो। काठमाडौंको बोहोराटारस्थित वरिष्ठ नेता पौडेलको निवासमा मंगलबार बसेको पौडल पक्षको बैठकले प्रधानमन्त्री देउवाले आफू पक्षलाई दिने मन्त्रालयबारे विषय नै प्रवेश गराउने काम अझै नगरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेको छ। 

बैठकले मन्त्रिमण्डलमा नेपाली कांग्रेसले कति पाउने भन्ने विषयमा प्रधानमन्त्री देउवालाई छिटो टुंगोमा पुग्न आग्रह गर्ने निर्णय गरिएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। उनले भने, ‘मन्त्रिपरिषदमा जाने विषयमा विषय प्रवेश गर्याे। मन्त्रीमण्डलमा नेपाली कांग्रेसले कति पाउने र नेपाली कांग्रेस भित्र पनि हामीहरुको जुन पक्ष छ, त्यसलाई कति दिने भन्ने कुरामा अहिले पनि टुंगो भाको छैन। सभापतिजीले त्यो कुरामा वास्तविक रुपमा प्रवेश गर्नु भएको छैन। त्यसैले त्यो कुरा पनि प्रवेश होस्।’

पौडेल पक्षले आफ्नो पक्षबाट जातीय, क्षेत्रीय सन्तुलन मिलाएर सरकारमा पठाउने निर्णय पनि गरेको छ। ‘विभिन्न पक्षबाट आउने अनुहारहरुलाई हेरेर क्षेत्रीय सन्तुलन, जातीय सन्तुलन मिलेर मन्त्रीमण्डलमा पठाउने हो,’ नेता केसीले भने, ‘तर सबभन्दा पहिला कति जनाले मन्त्रालय पाउने? भन्ने स्पष्ट हुुनुपर्छ भन्ने कुरामै बैठक सीमित रह्यो।’

बैठकमा पार्टीको आशन्न महाधिवेशनमा आफ्नो पक्षबाट एक जनाले मात्रै सभापतिमा उम्मेदवारी दिने प्रतिवद्धता पनि नेताहरुले जनाएका थिए। नेता केसीले भने, ‘जो लडे पनि सहमतिमा एक जना लड्ने विषयमा छलफल गरिएको छ। र हामी सहमतिपूर्ण परिस्थिति नै निर्माण गछौं। त्यही हामी सबैको बचनवद्धता हो।’

पौडेल पक्षभित्र १४ औं महाधिवेशनमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताद्वय प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिको आकांक्षी छन्। नेता केसीले सबै नेताहरुले मिलेर महाधिवेशनमा उम्मेदवारी दिने प्रतिवद्धता बैठकमा जनाएको बताए। बैठकले सत्तारुढ दलहरुबीच सन्तुलन, संयोजन र व्यवस्थापन गर्नुपरेकाले मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुन गएको पनि स्पष्ट पारेको छ।

Skip This
Skip This
Logo