सिन्धुपाल्चोक ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले तयार पारेको बस्ती स्थान्तरण सम्बन्धी प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पारित भएको प्रतिवेदन गृहमन्त्री थापालाई शुक्रबार उनकै कार्यकक्षमा पुगेर सिन्धुपाल्चोकका जनप्रतिनिधिहरुले बुझाएका हुन् ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले गृहमन्त्री थापालाई प्राकृतिक विपत्तीबाट हालसम्म सिन्धुपाल्चोकमा भएका मानवीय, भौतिक क्षति साथै बस्ती स्थान्तरण सम्बन्धी स्थलगत रुपमा तयार पारिएको प्रतिवेदन हस्तान्तरण गरे । सो अवसरमा गृहमन्त्री थापाले यस वर्ष प्राकृतिक विपत्तीका परेका ४९ जिल्लामध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति भएकामा दुःख व्यक्त गर्दै क्षति बढी भएकाले नै सरकारले यस जिल्लालाई विपत्तीको जिल्ला घोषणा गरेको बताए।
उनले प्राकृतिक विपत्तीले क्षति भएका जिल्लाहरुको पुनर्निर्माणमा विश्व बैंकसँग करिब छ अर्ब बराबरको ऋण सम्झौता भएको र कार्यान्वयनको चरणमा रहेको समेत जानकारी दिए ।
समितिले प्राकृतिक विपत्तीपछि विस्थापित भएकाहरुलाई सुरक्षितरुपमा स्थानान्तरणका लागि प्रतिवेदन तयार पारेको छ । गत असार १९ देखि सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तीका कारण ११२ जनाको मृत्यु र करोडौँको भौतिक सम्पत्ती नष्ट भएको छ ।
सो अवसरमा पूर्वमन्त्री एवम सिन्धुपाल्चोक प्रतिनिधिसभाका सासंद शेरबहादुर तामाङले बस्ती स्थानान्तरणका लागि जग्गा सट्टापट्टा सम्बन्धी कानून अपरिहार्य रहेको र सो कानून तत्काल पारित गर्न गृहमन्त्रीसँग अनुरोध गरेका थिए । कार्यक्रममा नेकपा नेता दावा तामाङ र माधव सापकोटा तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको समेत सहभागिता रहेको थियो ।रासस































प्रतिक्रिया