यसकारण कांग्रेस सभापतिमा मेरो उम्मेदवारी: कल्याण गुरुङ

यसकारण कांग्रेस सभापतिमा मेरो उम्मेदवारी: कल्याण गुरुङ

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। बुधवार पत्रकार सम्मेलन गरेर नेता गुरुङले पार्टीको आसन्न १४ औ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने औपचारिक घोषणा गरेका हुन्।

नेविसंघका पूर्वअध्यक्षसमेत रहेका ५१ वर्षीय गुरुङले युवाहरुको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिएको र जित्ने दाबी गरे।

०४८ सालमा जो नेतृत्वमा थिए ३० वर्षपछि पनि उनीहरु नै नेतृत्वमा बसिरहेको भन्दै गुरुङले नयाँ पुस्ताको नेतृत्व गर्दै आफू अघि सरेको बताए। 'शासन व्यवस्थामा परिवर्तन आयो। तर नेतृत्वको सोंचमा परिवर्तन आएन। ६० वर्ष माथिको २० जना पार्टी नेतृत्वका आकांक्षी छन्। कम्तिमा पनि १० जना युवा आकांक्षी हुनुपर्छ,' उनले भने, 'बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहले युवा अवस्थामा पार्टी र सरकारको नेतृत्व गरेको कांग्रेसमा अहिले पनि पुरानै पुस्ता नेतृत्व गरिरहेको छ। नयाँ पुस्ता पार्टी र देशको नेतृत्व गर्न सक्षम छ त्यसैले मेरो उम्मेदवारी हो।'

गुरुङले नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने आम मानिसको माग रहेको र ८० प्रतिशत क्रियाशील सदस्य युवा भएकाले आफूले उम्मेदवारी दिएको दोहोर्‍याए।  

उनले आफू सभापति भएमा सबै समुदायलाई समेटेर समावेशी पार्टी बनाउने दाबी गरे। 'सबैले अवसर पाउने, सबैलाई न्याय हुने पार्टी बनाउँछु,' उनले भने।

गुरुङले एक व्यक्तिमात्रै पटक पटक मन्त्री, सांसद र पार्टी पदमा रहिरहने व्यवस्था पनि फेर्ने बताए। 'समानुपातिक सांसद एकपटक मात्र बन्न पाउने, दुई पटकमात्र मन्त्री हुन पाउने, दुई पटकमात्र प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था पार्टीको विधानमा व्यवस्था गर्छु। एक व्यक्ति पार्टीको वडा सभापतिदेखि केन्द्रीय सदस्यसम्म दुई पटकमात्र पदमा बस्न पाउने विधानमै व्यवस्था गर्छु,' उनले भने।

गुरुङले स्थानीय तहमा ५० प्रतिशत महिला प्रमुख र ५० प्रतिशत महिला उपप्रमुख हुने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने बताए। 'सभापति भएर पार्टीको नेतृत्वमा सरकार बने शिक्षामा सबैको पहुँच, अनिवार्य र नि:शुल्क शिक्षा, सबै निजी अस्पताललाई राष्ट्रियकरण गरेर सबै नागरिकलाई नि:शुल्क गुणस्तरीय शिक्षा प्रदान गर्छु,' उनले भने।  

सभापति बनेर सरकारको नेतृत्व गर्ने अवसर पाए ६ महिनाभित्र भ्रष्टाचारमुक्त देश बनाउन पहल गर्ने गुरुङको भनाइ थियो। त्यसका लागि कडाभन्दा कडा कानुन बनाउने उनले उल्लेख गरे।

१३ औं महाधिवेशनमा भाग लिन नपाएका क्रियाशील सदस्यहरु अहिलेको पदाधिकारीप्रति असन्तुष्ट रहेको भन्दै उनीहरुकाे मत आफूले पाउने र युवाको संख्या पार्टीमा धेरै भएकाले आफूले जित्ने गुरुङको दाबी छ।

गुरुङ पार्टीमा रामचन्द्र पौडेलनिकट मानिन्छन्। उनले चाँडै आफ्नो टिम सार्वजनिक गर्ने पनि बताए।

यसअघि कांग्रेस सभापतिमा लड्न उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलिसकेका छन्। महामन्त्रीमा गगन थापाले उम्मेदवारी घोषणा गरेका छन्।

वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नै फेरि नेतृत्वमा दोहोरिन उम्मेदवारी दिने मनस्थितिमा रहेको बताइन्छ। महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ। कांग्रेस केन्द्रीय महाधिवेशन ९-१३ मंसिरसम्म हुनेछ।न्युज कारखानाबाट

Skip This
Skip This
Logo