कर घटाउने सरकारको निर्णयको व्यवसायीद्वारा स्वागत

कर घटाउने सरकारको निर्णयको व्यवसायीद्वारा स्वागत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । करका दर र अन्तशुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुले बताएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरु उत्साहित हुँदै सरकारको स्वागतयोग्य कदम भएको प्रतिक्रिया दिएका हुन् । सरकारले गरेको करका दर र अन्तशुल्क घटाउने निर्णय बिहीबार नै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ ।

खासगरी विद्युतीय सवारी साधनमा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत अन्तशुल्क बढाउने निर्णय गरेको थियो । तर बिहीबार फेरि अन्तशुल्क घटाउने निर्णय गरेपछि अटोमोबाइल्स व्यवसायीहरुले पनि स्वागतयोग्य भनेका छन् । नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले विद्युतीय सवारी साधनमा अन्तशुल्क घटाउनु स्वागतयोग्य भएको प्रतिक्रिया दिए । साथै सवारी साधन खरिदमा न्यूनतम ५० प्रतिशत डाउन पेमेन्ट गर्ने व्यवस्थालाई पनि सरकारले घटाइदिनुपर्ने उनको भनाइ छ । सवारी साधनको डाउन पेमेन्टलाई ५० प्रतिशतबाट घटाएर १० प्रतिशतमा कायम गर्ने व्यवस्था गरिदिन पनि सरकारसँग आग्रह समेत गरे ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आयातित वस्तुमा लिने अन्तशुल्क र करका दर घटाउँदा सरकारको राजश्व झनै बढ्ने बताए । अन्तशुल्क घटाउँदा सबै सामान वैधानिक माध्यमबाट आउने र आयातको आकार बढने हुँदा राजश्व पनि बढ्ने उनको भनाइ छ । साथै कर घटाउँदा कम मूल्यमा वस्तु बिक्री गर्न सक्ने भएकाले उत्पादन पनि बढ्न जाने र त्यसबाट रोजगारी बढ्ने भएकाले राजश्वमा स्वतः वृद्धि हुने श्रेष्ठको भनाइ छ ।

त्यस्तैगरी व्यवसायीहरुले आयातित वस्तुको अन्तशुल्क घटाउनु सकारात्मक भएपनि भन्सार प्रक्रियामा सुधारको आवश्यकता रहेको बताएका छन् । खासगरी भ्याट फिर्ता लगायतका विषयमा अझै पनि प्रक्रिया नमिल्दा लागत बढ््न गई उपभोक्तालाई मूल्यमा मार परेको व्यवसायीहरुको तर्क छ । जसका कारण देशमा राजश्व संकलन लक्ष्यअनुसार हुन नसकेको पनि व्यवासयीहरुको भनाइ छ ।

Skip This
Skip This
Logo