नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरूलाई सोमबार पनि निशानामा राखेर टिप्पणी र आलोचना गरेका छन्।
उनले सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग, सर्वोच्च अदालतमात्र नभएर आफूभन्दा धेरै कम बरियताकी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई समेत टिप्पणी गर्न बाँकी राखेनन् ।
उनले नेतृ रामकुमारी झाँक्रीको मौनताबारे प्रश्न उठाएका छन् । गृह मन्त्रालयले एमसिसीको विरोध तथा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनको विषयमा जारी गरेको वक्तव्यलाई लिएर ओलीले प्रश्न उठाएका हुन् ।
रामकुमारीको नाम नलिई एमाले अध्यक्ष ओलीले भने, ‘जो मन्त्री हुन खुट्टा उचालेर बसेका छन्, तिनै मान्छेहरु हिजो ज्याकेट दर्शकतिर फुत्त फ्याँकेर, मास्क स्टाइलिस पाराले फुत्त खोलेर, आफैले टाँसेको टेप फिल्मी स्टाइलमा निकालेर बोल्न पाइन्छ भन्थे । म अहिले सोध्न चाहन्छु तिनीहरु र तिनीहरुको सरकारलाई, बोल्न पाइन्छ कि पाइदैन नेपालमा ? देशबारे बोल्न पाइन्छ कि पाइँदैन ? राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?’
गत माघ २८ गते साबिकको नेकपाले काठमाडौंमा गरेको विरोध सभामा नेतृ झाँक्री मुखमा कालो टेप लगाएर मञ्चमा पुगेकी थिइन् । मुखमा कालो टेप लगाएर मञ्चमा पुगेकी उनले टेप खोलेर बोल्न पाइन्छ भनेर प्रश्न गरेकी थिइन् ।
‘आफू प्रधानमन्त्री हुँदा अधिनायकवाद भयो, बोल्न पाइन्न भन्नेहरुको सरकारले बोलेमा कारबाही गर्छु भन्न थालेको बताए । तर हिजो बोल्न पाइन्छ भन्नेहरु अहिले चुइक्क नबोलेको भन्दै उनले प्रश्न उठाएका छन्,’ केपी ओलीले भने ।
त्यस्तै सभामुख सापकोटाविरुद्ध उनले अब २३ गते संसद् कसरी चलाउछौं भन्दै प्रश्न गरेका छन्।
अध्यक्ष ओलीले सभामुख सापकोटा दलको कार्यकर्ता भएर संसद्मा प्रस्तुत भएको आरोप लगाए। उनले सोधे, तपाईं सभामुख कि गठबन्धनको प्याडा ?





























प्रतिक्रिया