संघीयता कार्यान्वयनमा आएसँगै राज्यपुनर्संरचना भएर देशभर सात सय ५३ स्थानीय तह कार्यान्वयनमा आए। संघीय सरकारले ती सबै पालिकाको नाम र केन्द्र तय गरिदियो।
नाम र केन्द्र तय भए पनि यसलाई फेर्ने अधिकार निर्वाचित जनप्रतिनिधिको काँधमा थियो। तर स्थानीय तह कार्यान्वयनमा आएको चार वर्षसम्म पनि ७१३ वटा स्थानीय तह केन्द्रले नै जुराइदिएको नाम राखेर अस्तित्वमा छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार हालसम्म देशभरका पालिकामध्ये १९ वटा पालिकाले केन्द्रले जुराएको नाम बदलेका छन् भने २१ वटा पालिकाले नामसँगै संघीय सरकारले तय गरिदिएको केन्द्र पनि परिवर्तन गरेका छन्।
पालिकाको नाम र कार्यालय रहेको स्थान परिवर्तनका लागि सम्बन्धित पालिकाको सभाले पारित गरेर प्रदेश हुँदै केन्द्र सरकारमा पठाउनुपर्ने र केन्द्रले अनुमति दिएर राजपत्रमा प्रकाशन भएपछि मात्र नाम र केन्द्र परिवर्तन हुने कानुनी व्यवस्था छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म ६२ वटा स्थानीय तहका केन्द्र परिवर्तन भएको छ। यो तथ्यांक पालिकाको केन्द्र मात्र नभएर वडा कार्यालयसमेतको हो।
स्थानीय तहलाई कानुन बनाउनेदेखि लिएर पैसा उठाएर खर्च गर्नेसम्मको अधिकार दिइए पनि चार वर्ष बितिसक्दासमेत केन्द्रले नै जुराइदिएको नाम र केन्द्रको भरमा स्थानीय तह चलेका छन्।
स्थानीय विकास मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार नाम र केन्द्र तय गर्दा स्थानीय भावनाको प्रशस्त अध्ययन गरिएका कारण स्थानीय जनप्रतिनिधिले नाम र केन्द्र फेर्न चासो नदिएका हुन्। तर धेरैजसो पालिका भने जनप्रतिनिधिबीचको आन्तरिक किचलो र विमतिका कारण नाम फेर्न इच्छुक भएर पनि परिवर्तन गर्न सकिरहेका छैनन्।
नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुका अनुसार स्थानीय तहको प्राथमिकता नाम र केन्द्र फेर्नेभन्दा कानुन बनाउने र पालिकाको विकास निर्माणलाई गति दिनेमा केन्द्रित हुनुपरेका कारण नाममा धेरैको चासो नभएको बताउँछन्।
धेरैजसो पालिकाले भने आन्तरिक विवादका कारण नाम फेर्न सकिरहेका छैनन्। प्रदेशले समेत नाम तय गर्न नसकेको स्मरण गर्दै उनी भन्छन्, ‘स्थानीय तहलाई पनि प्रदेशको हावा लाग्नु स्वाभाविक नै हुने भयो। ’
कुन प्रदेशका कतिले फेरे नाम?
प्रदेश १ का सबैभन्दा बढी पालिकाले नाम परिवर्तन गरेका छन्। प्रदेश २ मा सबैभन्दा कमले परिवर्तन गरेका छन्। प्रदेश १ का आठवटा पालिकाले नाम मात्र परिवर्तन गर्दा प्रदेश २ को एउटा मात्र पालिकाले नाम परिवर्तन गरेको छ। सुदूरपश्चिम प्रदेशका तीन पालिकाको नाम परिवर्तन भएको छ। गण्डकी प्रदेशले ६ वटाको नाम परिवर्तन गर्दा कर्णालीको एउटा मात्र पालिकाको नाम परिवर्तन भएको छ।
नामसँगै केन्द्र बदल्ने पालिका
नाम र केन्द्र दुवै परिवर्तन गर्नेमा भने प्रदेश १, लुम्बिनी र बागमती अग्रपंक्तिमा छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार उनीहरूले चार, चारवटा पालिकाको नाम र केन्द्र परिवर्तन गरेका छन्। गण्डकी र कर्णालीले तीन/तीन, सुदूरपश्चिमले दुई र प्रदेश २ ले एउटा पालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरेका छन्।
यी हुन् नाम फेर्ने पालिका
कालीकोटको कालिका गाउँपालिका शुभकालिका गाउँपालिका भएको छ। सल्यानको ढोरचौर गाउँपालिका सिद्धकुमाख गाउँपालिका भएको छ भने कुमाखमालिका गाउँपालिका कुमाख गाउँपालिका भएको छ। यी दुवै पालिकाले नाम र केन्द्र दुवै परिवर्तन गरेका हुन्।
जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाले नलगाड नगरपालिका बनाएको छ भने केन्द्र पनि परिवर्तन गरेको छ। मुस्ताङको दोलामे गाउँपालिकाले नाम परिवर्तन गरेर लो–घेकर दामोदरकुण्ड गाउँपालिका बनाएको छ।
मनाङको नारफु गाउँपालिकाले नार्पा भूमि गाउँपालिका नाम बनाएर केन्द्र पनि परिवर्तन गरेको छ। मनाङकै नासोङ र नेस्याङ गाउँपालिकाले पनि नाम परिवर्तन गरेर क्रमशः नासोँ र मनाङ ङिस्याङ गाउँपालिका बनाएका छन्। मनाङ ङिस्याङले केन्द्रसमेत परिवर्तन गरेको छ।
कास्कीको पोखरा लेखनाथ महानगरपालिकाले नाम परिवर्तन गरेर पोखरा महानगरपालिका बनाएको छ भने बर्दघाट सुस्तापूर्वको बुङ्दीकाली गाउँपालिकाले नाम फेरेर बौदीकाली गाउँपालिका बनाएको छ।
गोरखाको भीमसेन गाउँपालिकाले भीमसेन थापा गाउँपालिका बनाएको छ भने मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका नाम राखेको छ। गोरखाको सुलिकोट गाउँपालिकाले वारपार सुलिकोट नाम बनाउँदा धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाले सहिदभूमि गाउँपालिकामा रूपान्तरण गरेको छ।
भोजपुरको ट्याक्केमैयुमले नाम फेरेर टेम्केमैयुम गाउँपालिका बनाएको छ भने खोटाङको दिप्रुङ गाउँपालिकाले दिप्रुङ चुइचुम्चा बनाएको छ। सोलुखुम्बुको दूधकोसी गाउँपालिकाले नाम फेरेर माप्य दूधकोसी गाउँपालिका बनाएको छ भने सोलुखुम्बुकै दूधकोसी गाउँपालिकाले थुलुङ दूधकोसी गाउँपालिका बनाएको छ।
सुनसरीको बराह नगरपालिकाले बराहक्षेत्र नगरपालिका र भोक्राहा गाउँपालिकाले भोक्राहा नरसिंह गाउँपालिका नामाकरण गरेका छन्।
ताप्लेजुङको याङबरक गाउँपालिकाले पाथिभरा याङबरक, खोटाङको रूपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल रूपाकोट मझुवागढी र खोटाङकै लामिडाँडा गाउँपालिकाले रावाबेँसी गाउँपालिका बनाएको छ।
उता, उदयपुरको सुनकोसी गाउँपालिकाले नाम फेरेर लिम्चुङबुङ गाउँपालिका बनाउँदा सुनसरीको हरिनगरा गाउँपालिकाले हरिनगर नाम राखेको छ। यसैगरी, प्रदेश २ को सदरमुकामसमेत रहेको धनुषाको जनकपुर उपमहानगरपालिकाले जनकपुरधाम उपमहानगरपालिका नाम जुराएको छ।
सप्तरीको बेल्ही चपेना गाउँपालिकाले राजगढ गाउँपालिका नामकरण गरेको छ भने धादिङको नेत्रावती गाउँपालिकाले नेत्रावती डवजोङ गाउँपालिका भनेर नामाकरण गरेको छ।
रसुवाको पार्वतीकुण्ड गाउँपालिकाले पनि नाम फेरेर आमाछोदिङमो गाउँपालिका बनाएको छ भने नुवाकोटको मेघाङ गाउँपालिकाले म्यगङ गाउँपालिकाका बनाएको छ।
रामेछापको लिखु गाउँपालिकाले नाम फेरेर लिखु तामाकोसी गाउँपालिका बनाउँदा राल्पाको दुईखोली गाउँपालिकाले परिवर्तन गाउँपालिका बनाएको छ।
गुल्मीस्थित रुरु गाउँपालिकाले रुरुक्षेत्र गाउँपालिका, रोल्पाको सुवर्णावती गाउँपालिकाले सुनिल स्मृति गाउँपालिका नाम जुराएको छ।
त्यस्तै, बझाङको काँडा गाउँपालिकाले साइपाल, बाजुराको छेडेदह गाउँपालिकाले खप्तड छेडेदह गाउँपालिका, बाजुराको पाण्डवगुफाले जगन्नाथ गाउँपालिका राखेर केन्द्रले दिएको नाम परिवर्तन गरेका छन्।
डोटीको बोगाटन गाउँपालिकाले बोगाटन फुङसिल गाउँपालिका नाम जुराएको छ। बाजुराको स्वामीकार्तिक गाउँपालिकाले भने नाम फेरेर स्वामीकार्तिक खापर गाउँपालिका बनाएको छ।न्युज कारखाना































प्रतिक्रिया