काठमाडौं ।
फुटसलको ‘ए’ डिभिजन लिग पोखरामा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार फुटसलको ‘ए’ डिभिजन लिग पोखरामा हुने जनाएको हो ।
फुटसलको ‘ए’ डिभिजन लिग बैशाख २५ देखि जेठ १५ सम्म संचालन हुनेछ । एन्फा फुटसल कमिटीले आयोजना गर्ने लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा बागमती प्रदेशबाट ४ टिम तथा प्रदेश–१ र गण्डकी प्रदेशबाट २ र २ टिम सहभागी हुनेछन् । त्यस्तै प्रदेश–२ बाट एक टिम र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त एक टिम हुनेछ ।
लिगका लागि प्रदेश–१ को छनोट खेलहरु चैत १ देखि ५ सम्म इटहरीमा हुनेछ । प्रदेश–२ को छनोट हेटौडामा चैत ८ देखि १२ सम्म संचालन हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनोट दाङमा चैत १९ देखि २३ सम्म हुनेछ ।
बागमतीको छनोट खेलहरु काठमाडौंमा चैत २५ देखि ३० सम्म हुनेछन् । गण्डकीको छनोट खेलहरु पोखरामा बैशाख ३ देखि ७ सम्म संचालन हुनेछन् । लिगमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लब, जिल्ला संघमा आबद्द क्लब तथा राष्ट्रिय खेलकुद परिषदमा आबद्द क्लबहरुले सहभागिता जनाउन पाउनेछन् ।
लिगका विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउनेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउनेछन् । एन्फाले सहभागी हरेक टिमलाई १ लाख उपलब्ध गराउनेछ ।































प्रतिक्रिया