भीम आचार्य नेतृत्वको प्रदेश १ सरकार महिना दिन नपुग्दै ढाल्ने तयारीमा रहेको विपक्षी गठबन्धन सांसद जोगाउने खेलमा लागेको छ।
एक करोड रूपैयाँ, प्रदेश मन्त्रीसँगै अर्को निर्वाचनमा टिकट सुनिश्चित गर्ने भनेर सत्तारुढ एमालेबाट सांसदहरूलाई ‘अफर’ आइरहेको भन्दै सांसद जोगाउने खेलमा लाग्नु परेको गठबन्धनका नेताहरू बताउँछन्।
उनीहरूका अनुसार यसरी ‘प्याकेज’ सहितको ‘अफर’ गर्नेहरू आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका हिक्मत कार्की र विनोद ढकाल हुन्।
आर्थिक रूपमा कमजोर, प्रलोभनमा पर्ने खालका र पार्टीमा असन्तुष्ट सांसदहरू निशानामा रहेको गठबन्धनको ठम्याइ छ।
गठबन्धनमा रहेको एउटा दल नेकपा (एकीकृत समाजवादी) पार्टीकी सांसद सुनिता चौधरीले आफूलाई पनि ‘अफर’ आएको बताइन्।
‘मलाई पनि अफर आयो तर मैले स्वीकारिन’, उनले भनिन्, ‘अन्य माननीयहरूलाई पनि यस्तै अफर आयो भन्ने सुनियो।’
प्रदेश संसदमा ९२ जना सांसद छन्। आर्थिक मामिला तथा योजनामन्त्री रहेका टंक आङबुहाङ पदमुक्त भएका छन्। र, सभामुखले मतदान गर्न पाउँदैनन्।
त्यसले गर्दा मुख्यमन्त्रीले विश्वासको मत लिए वा गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरे बहुमत सिद्ध गर्न आवश्यक सांसद संख्या ४६ जना हो।
आवश्यक संख्या भन्दा बढी सांसद रहेको दाबी गठबन्धनको छ।
तर, सत्तारुढ एमालेले गठबन्धनमा रहेका विभिन्न दलका सांसदहरूलाई ‘अफर’ गर्न नछाडेको र प्रलोभनमा परेर लान सक्ने सम्भावनाअनुसार गठबन्धन सांसदहरूको रक्षामा लागेको हो।
यद्यपि, गठबन्धनका घटकहरूबीच आपसी शंका भने रहेको पाइएको छ।
माओवादी केन्द्रका एक सांसदले माओवादीमा दायाँबायाँ गर्ने सांसदहरू नभएको बताए। उनका अनुसार जसपामा एक जना र कांग्रेसका २ जना सांसदमाथि बढी शंका गर्नुपर्ने अवस्था छ।
उनले कांग्रेस संसदीय दलका नेता केदार कार्कीलाई आफ्ना सांसदहरूको रक्षा गर्न भनिएको उनको भनाइ छ।
प्रदेश संसदमा एमालेका ४१ जना सांसद छन्।
कांग्रेस २१, माओवादी १५, नेकपा एकीकृत समाजवादी १०, जसपा ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको समान १/१ जना सांसद छन्।
मुख्यमन्त्री आचार्यलाई सरकार जोगाउन कम्तिमा पाँच जना सांसद आवश्यक छ। तर, आवश्यक संख्याको सांसद जुटाउन उनलाई मुस्किल छ।





























प्रतिक्रिया