काठमाडौं । पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटु हिमालमा सफल आरोहण गरी इतिहास रचेका नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यान्डबाजासहित भव्य स्वागत गरिएको छ ।
आरोहण दलका सदस्यहरुले हिउँद याममा माघ ३ गते शनिवार साँझ करिब ५ः४५ बजे केटु शिखर चुम्दै कीर्तिमान बनाएको हो । यससँगै उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् ।
प्रख्यात आरोही ताप्लेजुङका लेलेप निवासी मिङमा डेविड शेर्पा सहित मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको टोलीले केटुको सफल आरोहण गरेका हुन् ।

उनीहरूलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घलगायत पर्यटन क्षेत्रका संस्थाको सहभागितामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत तथा सम्मान गरिएको छ । आरोहण टोलिलाई हौसला, वधाई र स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नै पुगेर स्वागत गरिएको ताप्लेजुङ सरोकार केन्द्रका उपमहासचिव तथा आरोही स्वागत व्यवस्थापन समितिका संयोजक सन्तोष मादेनले वताए ।

विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल र्यालीद्वारा तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमबीच सम्मान गरिएको छ । बोर्डको कार्यक्रम सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा हुने विशेष कार्यक्रममा आरोही टोलीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै सोमवार भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धीले पाकिस्तान र चीनको सीमामा रहेको केटु हिमालको सफल आरोहण गर्ने नेपाली टोलीलाई बधाई दिएका छन्।
माउन्ट केटु आरोहणका लागि संसारकै खतरनाक हिमाल
सगरमाथापछि विश्वकै अग्लो हिमाल केटुको आरोहण हिउँदमा यसअघि कहिलै भएको थिएन। आठ हजारभन्दा अग्ला हिमाल मध्ये केटु मात्रै यस्तो हिमाल थियो जुन हिउँदमा चढ्न सकिएको थिएन। पाकिस्तानमा रहेको ८ हजार ६११ मिटर अग्लो केटु हिमाल आरोहण गर्नुलाई निकै कठिन मानिन्छ।

सन् १९५३ मा केटु शिखर आरोहण टोलीमा रहेका अमेरिकी पर्वतारोही जर्ज बेलले भनेका थिए,‘ यो साभेज माउन्टेन हो जसले तपाईलाई मार्न खोज्छ।’ त्यसयता यो हिमाललाई ‘साभेज माउन्टेन’को नामले समेत चिनिन्छ ।






























प्रतिक्रिया