नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गल्ती स्वीकारेर एमालेमा फर्किन आग्रह गरेका छन्।
बस्नेतले प्रचण्डले आफू विस्तारै एक्लै पर्न थालेको गुनासो गरेको भन्दै सेनाविहीन सेनापति बन्नुभन्दा एमालेमा फर्किन आग्रह गरे।
उनले अहिलेको एमाले नेकपा एकता बखतको एमाले रहेको तथा रामबहादुर थापा बादलको उपस्थितिले पुष्टि गरेको भन्दै कान समातेर गल्ती स्वीकार्दै एमालेमा फर्किन प्रचण्डलाई आग्रह गरे।
उनले भने,‘माओवादी केन्द्र प्रचण्डले भनेजस्तै विघटन हुँदैछ । पेशाकर्मी र मतदाताको स्तरमा विघटित भइसकेको छ । त्यो पंक्ति एमालेमा आबद्ध भइसकेको छ । अझै पनि डिप्रिसियसन धेरै काटिएको छैन । नत्र जति ढिला गर्यो उति तपाईको सान्दर्भिकता सकिनेछ ।’
नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले कार्यकर्ता एकीकृत हुँदा स्वार्थको टकराब नहुने र पार्टी पनि बलियो हुने बताए।
उनले प्रचण्ड–माधव निस्केपछि एमाले झन बलियो बन्दै गएको जिकिर गरे।
उनले प्रचण्ड अलग भए पनि माओवादीका कार्यकर्तालाई एमालेमा समावेश गर्ने चरण शुरु भएको दावीसमेत गरे।
कम्युनिष्ट पार्टी नेताहरुकै स्वार्थले टुक्रिने गरेको भन्दै बस्नेतले आक्रोश पनि पोखे।
बस्नेतले भने,‘हामीले नेता मिलाएर एकता गर्न खोज्दा पार्टी मिलेन । यो एमाले नेकपा एकताको एमाले हो भन्ने कुरा यहाँ रामबहादुर थापा बादल कमरेडहरुको उपस्थितिले पुष्टि गरेको छ । निजामति कर्मचारीका प्रचण्ड पक्षमा रहेका ५१ प्रतिशत साथीहरु यहाँ जोडिनुभएको छ । अब तलैसम्म कार्यकर्ता मिलाउने हो ।’





























प्रतिक्रिया