राष्ट्रपति एक पटक र प्रधानमन्त्री दुई पटक व्यवस्था उचितः प्रवक्ता शर्मा

राष्ट्रपति एक पटक र प्रधानमन्त्री दुई पटक व्यवस्था उचितः प्रवक्ता शर्मा

केन्द्रबिन्दु
0
Shares

आगामी महाधिवेशनका लागि नेपाली कांग्रेसको महामन्त्रीको उम्मेदवारी समेत घोषणा गरेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति एक पटक र प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नपाउने प्रावधानको व्यवस्था गर्दा उत्कृष्ट हुने प्रस्ताव अघि बढाएका छन् ।

शर्माले आइतबार आफ्नो गृहनगर झापामा ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ शीर्षकको अवधारणा प्रस्तुत गर्दै यस्तो प्रस्ताव अघि बढाएका हुन् ।

सातौँ संविधान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेता शर्माले भिन्न दल, भिन्न दर्शन र भिन्न नेतृत्वको आपसमा थुप्रै फरक मत थाती राखेर ‘बिमत्तीकोबीच सहमति’ को दस्ताबेजको रूपमा आजको संविधान निर्माण भएको उक्त प्रस्तावमा उल्लेख गरेका छन् ।
 

राजनीतिमा परिवर्तनको अनिवार्यताबारे नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका  उम्मेदवार विश्वप्रकाश शर्माले, संविधान दिवसका अवसरमा झापा बिर्तामोडको कार्यक्रममार्फत  सार्वजनिक गरेको अवधारणा पत्र:  

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको क्रममा हामीले एकातर्फ विगतको आत्मसमिक्षा गर्नुछ, अर्कातर्फ  आउँदा दिनहरुका लागि आत्मचिन्तन । स्थापना कालमा विपी कोईराला लगायतका अग्रजले देशका सामु  राख्नुभएको संकल्प र सपनाले हासिल गरेको उपलब्धीप्रति एकातर्फ गौरब त अर्कातर्फ कार्यसम्पादनमा  रहेका हाम्रा कमजोरीको इमान्दार पहिचान गर्दै बदलिएको नेपाल र बदलिएको समयलाई सम्बोधन गर्ने  नविन संकल्प र नविन सपनाको रेखांकन अबको कांग्रेसले गर्नुछ । 

यो ऐतिहासिक घडिमा म विचार विजारोपण गर्ने अग्रज नेताहरू, त्यो विचारका लागि जीवन अर्पण गर्ने  महान सहिदहरु अनि विचार र संस्कारको त्यो निष्ठाप्रति जीवनभर समर्पित पार्र्टीका पुराना जीवित  अग्रजहरु एवं अन्य सबै आदरणीय जनमा यो घडिमा बिशेष श्रद्धा र सम्मान व्यक्त गर्दछु ।  

ईतिहासको एउटा कालखण्डमा विपीले देशका लागि देख्नुभएको सपनालाई एक्काईसौ शताब्दीको नेपाली  युवाको आजको सपनासँग एकाकार गरेर “समय सापेक्ष सपना” साथ नेपाली कांग्रेस अघि बढ्नु छ । यो  यात्राले कांग्रेसको रुपान्तरण, सामाजिक परिवर्तन र भौतिक प्रगती तर्फको आकांक्षालाई सम्बोधन गर्न  सक्नुछ । चौधौं महाधिवेशन क्रममा यि समग्र विषयमा हामीलेचिन्तन गर्नुछ । 

आज असोज ३ गते २०७८ को संविधान दिवसको दिन भने म आफ्नो गृह जिल्ला झापाको माटोमा  उभिएर यि विषयलाई थाति राखेर यो समग्रलाई नायकत्व गर्ने राजनीतिको आजको चुनौती,  राजनीतिप्रतिको प्रश्न र बिकर्षण अनि अबको राजनीतिक रुपान्तरणको सन्दर्भमा आफ्नो अवधारणा  प्रस्तुत गरिरहेको छु । 

मेरो संक्षिप्त अपिल छ “हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन” । हामी जान्दछौं हरेक  देशको राजनीतिले त्यो देशको हरक्षेत्रलाई प्रभावित र नेतृत्व गरेको हुन्छ, अतः राजनीतिमा परिवर्तनको  अर्थ हुन्छ हर क्षेत्रमा त्यसको व्यापक सकारात्मक प्रभाव । नेपालमा राजनैतिक परिवर्तन पटकपटक भएको  छ, अब बेला भएको छ राजनीतिमा परिवर्तनका लागि खुला संवाद, बहस र अभ्यास गर्ने । हाम्रो  राजनीतिको छविप्रति उब्जिएको प्रश्न र विकर्षणलाई सुत्रबद्ध गर्दै तिनको समयोचित हल साझा ढंगले  पहिल्याऔं । यहि आग्रहका साथ २४ बुँदा छलफल र बहसका लागि प्रस्तुत गरेको छु । 
(राजनीतिको छवि सकारात्मक बनाउने साझा जिम्मेवारी)  

१) राजनीतिको छविमा पुनर्ताजगीको आकांक्षा 
 
राजनीतिलाई राजनीति भित्रकाले र राजनीति बाहिरकाले बुझ्ने र विश्लेषण गर्ने दृष्टिकोणमा  सामञ्जस्यता खोज्न जरुरी छ । राजनीति बाहिर रहेकाको नजरबाट राजनीति र राजनीतिकर्मीको छविलाई  नियाल्ने अनि सकारात्मक धारणाहरुलाई अभिवृद्धि गर्ने तथा नकारात्मक बुझाईका तथ्य जो छन्न तिनलाई  अन्त्य गर्न आत्मालोचित हुने र रुपान्तरणको सुत्र खोजी गर्ने ।  
(सबै बढौं, सँगै बढौं निस्चित गरिएको राजनैतिक बाटोमा)  

२) संविधान बनाउनेले संविधान प्रति इमान राखौ  

ऐतिहासिक आन्दोलनहरु र संविधानसभाको वैधानिक प्रक्रिया मार्फत देशले आजको उपलब्धी हासिल  गरेको हो । भिन्न दर्शन, भिन्न दल र भिन्न नेतृत्वको आपसका थुप्रै फरक मत थाती राखेर “विमती  बिच सहमती” को दस्तावेजको रुपमा आजको संविधान निर्माण गरेका हौ । यो उपलब्धी साझा हो र  कमजोरी पनि साझा हो । 
जो जसले संविधान निर्माणमा सहकार्य गर्यौं, तिनैले यसको स्वामित्व नलिने र यसप्रतिको फरकमतलाई  मुद्दा बनाउने हो भने त्यो जिम्मेवार राजनीतिको परिचय हुन सक्दैन । देशलाई अनन्तकालसम्म केवल  राजनीतिक बहसमा अल्मल्याउनु हुन्न । संविधान निर्माण गर्नेले नै यसप्रति विश्वास राख्दैनौ भने अरु  कसैले किन विश्वास राख्छ ? 
आजको मितिमा राजनीतिमा परिवर्तनको प्रारम्भिक शर्त र अर्थ भनेको हालसम्मका राजनैतिक परिवर्तनका  अंशियारहरुबाट यसप्रति साझा स्वामित्व र जिम्मेवार चरित्र तथा प्रवृत्तिको खोजी हो ।  

३) संविधानप्रति विमति लोकतान्त्रिक हक तर संविधानसभाको वैधानिकता कदर साझा कर्तव्य  

(मूलतः संविधानसभाको वैधानिकतालाई सबै राजनीतिक शक्तिले स्विकार गरेकै स्थिती थियो) । संविधान  प्रति अपनत्वको दायरा बढाउनु साझा अभिभारा र यो अभिभारा सम्पादनको जिम्मेवारी पनि साझा ।  भिन्न समुदाय र भिन्न भूगोलले अघि सारेका मुद्दा र भावनालाई एकाकार गरेर देशको संविधानप्रति  अपनत्वको दायरा बढाउँदा त्यसले राजनीतिमा परिवर्तनको बिषयलाई साझा अपनत्वको बनाउन योगदान  गर्नेछ । 

४) आजको राजनैतिक “व्यवस्था ठिक छ”, “अब्यवस्था अन्त्य” गरौं ।  

राजनैतिक शासन प्रणाली कस्तो हुनु उचित भन्ने द्वन्द्वमा नेपाल देशलाई अन्त्यहिन श्रृङखलामा अब  धकेल्नु हुन्न । लोकतान्त्रिक प्रणालीको बाटोबाट दुनियाँमा अनेक मुलुकले समृद्धि र जनताको खुसि हासिल  गरेका छन्। ब्यवस्था भित्रको अब्यवस्था अन्त्य गरेर यसप्रति जनताको आशालाई विश्वासमा बदल्नुपर्छ  ।  
(साझा बिषयमा साझा दृस्टीले राजनीतिप्रति आकर्षक बढ्नेछ)  

५) साझा विषयको पहिचान र साझा दृष्टिकोण निर्माणले हाम्रो राजनीतिलाई जिम्मेवारपूर्ण र  विश्वसनीय बनाउने छ 

दलगत आग्रह भन्दा माथि उठेर साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने विषय निम्न हुन भन्ने मेरो ठहर छः  
क) परराष्ट्रनीतिः साझा र जिम्मेवार दृस्टीको प्रश्न । 

पुरानो व्यवस्थाबाट हामी नयाँ व्यवस्थामा पुग्यौं, नयाँ व्यवस्थाको अर्थ र अस्तित्व परराष्ट्र नीतिमा  देखिएको छैन । देशको सम्मान, स्वाभिमान र समृद्धिसँग सोझै सरोकार राख्ने परराष्ट्र निति व्यक्तिका  बुझाई या दल बिशेषको आग्रह भन्दा माथि देशको हुनुपर्छ, बनाइनुपर्छ । 

ख) नीतिगत सुनिश्चितताः देशको समृद्धिका लागि अनिवार्य आवश्यकता  

ग) पार्र्टीर सरकार बीचको सम्बन्ध जटिलताको तार्किक व्यवस्थापन । (स्मृतिमा राखौ, हाम्रो देशका कयौ  सरकार यो सम्बन्धको परिपक्व व्यवस्थापन हुन नसक्दा असफल भएका छन् । राजनीति प्रति युवा  विकर्षणको एक प्रमुख कारण यहि अस्थिरताको श्रृंखला हो) ।  

घ) जातिय विभेद या घरेलु हिंसा या कुनैपनि प्रकृतिका सामाजिक विसंगतीका घटनामा दोषी प्रमाणित  व्यक्तिलाई समाज रुपान्तरणको राजनीतिक आन्दोलनबाट विदाई गर्ने विषयलाई हरेक राजनीतिक दलले  साझा दायित्वको रुपमा अंगिकार गर्नुपर्दछ । 

ङ) सामाजिक न्यायको विषयलाई राजनीतिक होईन मानवीय कोणबाट सम्बोधन गरौ ।  

च) संसदीय निर्वाचनको अभियान खर्चिलो र कामचलाउ पारदर्शी मात्र भएको यथार्थलाई आत्मचिन्तन  गर्दै मितव्ययी नीति र विधिको निर्माणले राजनीतिमा बढ्दो विकृतिलाई नियन्त्रण गर्न सघाउँ पुर्याउँदछ  । 

(सहिष्णुता, सुसंस्कृत राजनीतिको मूलमन्त्र)  

६) सहिष्णुताको प्रश्न ब्यक्तिको लोकतान्त्रिक चरित्र परिक्षण गर्ने एक विधि हो  

टेलिभिजनमा समाचार हेरिरहेका आमाबाबाको छेउमा रहेका साना बालबालिकाले हामी राजनीतिककर्मीका  कतिपय अभिव्यक्तिबाट के सिकिरहेका होलान्? उनीहरुले त्यसलाई आदर्शको रुपमा लिएका होलान्?  आत्ममनन गरौ । सहिष्णुता लोकतन्त्रको प्रमुख शर्त हो, त्यो छैन त बुझौ म भित्र र हामी भित्र  लोकतान्त्रिक संस्कार छैन । 

७) प्रश्नलाई प्रोत्साहित गरौं, जवाफमा जिम्मेवार बनौं  

राजनीति, राजनितिज्ञ या राज्यप्रति संचा माध्यम या कहिँबाट पनि उठ्ने सकारात्मक या नकारात्मक  कस्तै प्रश्नलाई पनि प्रथमतः प्रश्नकर्ताको लोकतान्त्रिक अधिकारका रूपमा लिइनुपर्छ । संविधानले  प्रत्याभूत गरेको अधिकारलाई गैह्र कानुनी रुपले या कानुन बनाएर कुन्ठित गर्ने प्रयत्नले राजनीतिप्रति  वितृष्णा बढाउँछ ।  

८) पार्टी भित्रको प्रतिस्पर्धा होस या बाहिरकासँग, लोकतान्त्रिक प्रक्रिया अंगिकार गरेपछि यसलाई दुश्मनी  जस्तो मनोबिज्ञान हामीले कतिपय बेला प्रस्तुत गरेका छौं । लोकतान्त्रिक भन्नु र लोकतान्त्रिक बन्नुमा  आफैले आफ्नो समिक्षा गर्ने सहिष्णुताको आत्मनिरिक्षण हामी हरेक राजनीतिकर्मिले गर्न जरुरी छ । 
 
९) सुशासन, पारदर्शिता र सदाचार, परिवर्तित राजनीतिको मूल संस्कार  

वृहत्तर ब्याख्या जरुरी छैन, जरुरी छ जनताको भोगाइबाट पढ्न, जिम्मेवार मिडियाको समाचार र  बुद्धिजीवीको लेखाईबाट बुझ्न अनि जरुरी छ समयोचित सुत्रको खोजि गर्न । कस्तै सुन्दर प्रणाली होस्,  शुसासन, पारदर्शिता र सदाचार स्थापित गर्न नसक्दा त्यसले भरोसा जित्नै सक्दैन । हामीलाई प्रणाली  बदल्ने सुविधा छैन, प्रवृत्ति बदल्नुको विकल्प छैन ।  

१०) राजनीतिप्रति नागरिक वितृष्णाको एक मुख्य कारण सर्वत्र व्याप्त भ्रस्टाचार हो । महालेखाको पछिल्लो  प्रतिवेदनले अनियमितताको अनेक चित्र सार्वजनिक गरेको छ । ऐन बनायौं, कानुन बनायौं , पुगेन । अब  साझा दृस्टि र जबर्जस्त ढंगको साझा अभियान जरुरी छ । तब देशले समृद्धिको सार्थक गति लिनेछ र  राजनीतिको बन्नेछ उज्यालो अनुहार ।  
(अब शासकीय प्रणालीको होईन, शासन संस्कार पद्धतिको बहस)  

११) मेरो पुस्तालाई प्रस्ताव वान टु थ्रि फोर  
शासकीय प्रणालीको बहसलाई “शासन संस्कार पद्धति” तर्फ मोडौ । जस्तै अब एकपटक राष्ट्रपति,  दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको सपथ । यसलाई व्यवहारमा अनुसरण गर्न  संभव हुंदा त्यसले नेतृत्वमा आगमन र बहिर्गमनको भिन्न प्रणाली र प्रवृत्ति निर्माण हुनेछ भने परिणाम  रचनात्मक हासिल हुनेछ । 
(लोकतान्त्रिक संस्थाहरुको आधुनिकीकरण)  

१२) लोकतान्त्रिक संस्थाहरुको विश्वसनीयता बढाऔं, तब बढ्छ राजनीतिप्रति आकर्षण अनि  राज्यप्रति विश्वास  
अभ्यास बहुदलीय छ तर हामी भित्र निर्दलिय शैलिको व्यक्ति केन्द्रित मनोबिज्ञान अझै हावि छ । हाम्रा  लोकतान्त्रिक संस्थाहरु चाहे राजनैतिक दल हुन या सरकारहरु या दलहरूका भातृ संस्थाहरु या लोकतन्त्रमा  विश्वास गर्ने अनेक संस्था प्रायको लोकतान्त्रिकरण र आधुनिकीकरण भरोसायुक्त ढंगले हुन सकेको छैन  । राजनीतिप्रति भरोसा जागृत हुन लोकतान्त्रिक संस्थाहरुको संस्थागत शक्तिको विकासले योगदान  र्पुयाउने छ ।  
(प्रश्नलाई प्रोत्साहन, जिम्मेवार जवाफ र न्यायको प्रश्न)  

१३) राजनीति, राजनितिज्ञ या राज्यप्रति संचार माध्यम या कहिँबाट पनि उठ्ने सकारात्मक या नकारात्मक  कस्तै प्रश्नलाई पनि प्रथमतः प्रश्नकर्ताको लोकतान्त्रिक अधिकारका रूपमा लिइनुपर्छ । संविधानले  प्रत्याभूत गरेको अधिकारलाई गैह्र कानुनी रुपले या कानुन बनाएर कुन्ठित गर्ने प्रयत्नले राजनीतिप्रति  वितृष्णा बढाउँछ । जवाफदेहीपुर्ण जवाफले राजनीतिप्रति आकर्षक बढाउँछ ।  
(न्याय खोजिरहेको एक्लो आवाज सुनौं)  

१४) न्यायको फास्ट ट्रयाक अनुभुती, व्यवस्थाप्रति विश्वासमा अभिवृद्धि 
 
कुनै माग या न्यायोचित मुद्दा सुनुवाइ गर्न राज्यले सयौं या हजारौंको जुलुस प्रतीक्षा गर्नुहुन्न । सम्बोधनमा  शिघ्रताले न्यायमा जो अपनत्व अनुभुति गराउँछ त्यसले व्यवस्थाप्रति व्यक्तिको विश्वास बढाउँछ । हेक्का  राखौं लोकतन्त्र भन्नु लाखौंको जुलस निकाल्न पाउने अधिकार जति हो, त्यो भन्दा बढि केवल एउटा  अदना नागरिकले मलाई न्याय चाहियो भन्दा राज्यले सुनुवाइ गर्नु हो ।  
(सम्मान, श्रद्धा र कदरले राजनीतिको गरिमा बढाऔं)  

१५) लोकतन्त्र र देशका लागि जो सहिद भए, तिनको परिवार एवं द्धन्द्धकालमा यो या त्यो पक्षबाट गम्भीर  घाइते बनेका नागरिकलाई सामाजिक सम्मान र पुनःस्थापन हाम्रो राज्य र राजनीतिको कर्तव्य हो ।  सुसंस्कृत समाजको परिचय र जिम्मेवार राजनीतिको पहिचान पनि हो । 

१६) लोकतन्त्र र राष्ट्रको लागि लामोसमय संघर्षमा सहभागी अग्रज र आदर्श राजनैतिक व्यक्तित्वहरुको  सामाजिक सम्मान र कदर गर्ने संस्कृतिले राजनीतिप्रति नागरिक आकर्षण बढाउँन बल पुर्याउँदछ । 
(रास्ट्र निर्माणमा “कुशल कालिगढी मस्तिष्क” गाँसौ)  

१७) “कुशल कालिगढी मस्तिष्क” को पहिचान र राष्ट्रनिर्माणको अभियानमा संलग्नताका लागि आव्हान  र प्रोत्साहन अब जरुरी भएको छ । हेक्का राखौ दल निर्माण र देश निर्माणको विषय अन्र्तसम्बन्धित  भएपनि देश निर्माण वृहत विषय हो । राजनीतिमा संलग्न नरहेका तर विषयगत सुयोग्यता राख्ने कुशल  कालिगढी मस्तिष्क भएकाहरुलाई सँगै लिएर अगाडी बढ्दा राजनीतिप्रति आकर्षण बढ्छ र राष्ट्र  निर्माणप्रति विश्वास अभिवृद्धि हुन्छ । 

१८) राजनीति भन्दा पर रहेका तर देश निर्माणको बिषयगत भिजन बोकेका ब्यक्तित्वको क्षमताबाट रास्ट्र  लाभान्वित हुन त्यहि अनुरुपको संवैधानिक बन्दोबस्त र ब्यवहारिक वातावरण निर्माणको बहस जरुरी छ  । प्रधानमन्त्रीले मन्त्री परिषद्गठन गर्दा निश्चित संख्या त्यसरी लिन सक्ने प्रबन्ध तर्फ चिन्तन जरुरी छ  । 
(स्वावलम्बि बनौं राजनीतिकर्मिहरु, स्वच्छताको सन्देश दिउँ)  

१९) हरेक तहको राजनैतिक नेतृत्व र सदस्यलाई आर्थिक रुपले आत्मनिर्भर बन्ने प्रेरणा र बनाउने  अभियानले राजनैतिक व्यक्तिलाई स्वावलम्बी बनाउँदछ भने समग्र राजनीतिलाई स्वच्छ र सदाचारयुक्त  मैदान बनाउन योगदान पुर्याउँदछ । राजनीति बाहिर अन्य क्षेत्रमा संलग्न रहेका व्यक्तिले पनि परिवारलाई  दिने समय र जीवन सुब्यवस्थापनको साधन जुटाउने सवालमा ईमानको बाटो र आत्मनिर्भरताको लक्ष्य  जरुरी छ । त्यसैले मैले भन्ने गरेको छु“तीन दिन पार्टीका लागि चार दिन रोटीका लागि”।  
(समावेशीताको जग श्रेष्ठताको लक्ष्य)  

२०) श्रेष्ठताको व्यवहारिकताले समावेशिताको गाम्भिर्य, समावेशिताको मार्गबाट श्रेष्ठता हासिल  गर्ने लक्ष्य 
 
यसले लोकतन्त्रप्रति आत्मियताबोध अभिवृद्धि एकातर्फ सबैमा गराउँदछ भने अर्कातर्फ राजनीतिको  जिम्मेवार अभिभावकत्व प्रति आकर्षण र भरोषालाई बल पुर्याउँदछ । 
(सदाचारको ट्रयाक रेकर्ड राजनैतिक नियुक्ति पुर्व)  

२१) कुनैपनि सरकारले गर्ने राजनीतिक नियुक्तीहरुमा कैयन देशले गरे झै “क्ष्लतभनचष्तथ ख्भततष्लन” गर्ने । अर्थात सिफारिस हुनेको सदाचार सम्बन्धी ट्रयाक रेकर्ड हेर्ने र दल, सरकार र राजनीतिको छविमा  कस्तो प्रभाब पर्छ भन्ने कुरालाई मुख्य केन्द्रमा राख्ने । 
(राजनीतिप्रति युवाको विकर्षण बदलिन्छ विश्वासमा देश बन्ने विश्वासले)  

२२) “देशमा केहि भएको छ, धेरै गर्न बाँकी छ” यो भावना जनजनको मनमा दृढ ढंगले विकसित गर्न  जरुरी छ । महत्वपूर्ण राजनैतिक परिवर्तनहरुले देशलाई उज्यालो भविष्य तर्फ अग्रसर हुन मार्ग प्रशस्त  गरिसकेको छ भने अस्थिरता र हिंसात्मक द्धन्द्धको विच पनि देखिने गरी आर्थिक र भौतिक प्रगतिका केहि  कार्य देशमा भएका छन्।  
(राजनीतिले अब क्रान्तिको परिभाषा बदल्नु पर्छ)  

२३) राजनीतिक परिवर्तनको नेतृत्व दलहरुले गरे, राजनीतिमा परिवर्तन दलहरुको भित्रको परिवर्तनबाट  प्रारम्भ हुन्छ । 
छलफलका प्रस्तावित यि बुँदासँग राजनीतिमा परिवर्तन गर्ने अन्य कयौ विषय तथा सवालहरु हुन सक्दछन् र छन्। जसलाई बहसको केन्द्रमा थप जोड्दै जानु जरुरी छ, ताकी बहसको कारखानाबाट रुपान्तरणको  नविन औजारको उत्पादन गर्न सकियोस्। 

२४) राजनीतिमा परिवर्तनको एजेण्डा उठाउनुको अर्थ हो, मूल सङ्लो त समग्र संङ्लो। संसारमा जतिसुकै  सुन्दर राजनीतिक प्रणाली किन नहोस जनताको हित र देशको प्रगती प्रणाली मात्रैमा होईन त्यसका  सञ्चालकहरुको प्रवृत्तिमा बढी निर्भर हुन्छ । त्यसैले नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीको  उम्मेद्वार हुदैगर्दा म सबैको ध्यान यसतर्फ आकर्षित गर्न चाहन्छु । नेपाली कांग्रेसका सदस्यलाई मात्र  होईन यो हरेक राजनीतिक दलको सदस्यका लागि पनि हो । जय नेपाल १ 

(कांग्रेसमा रुपान्तरण लगायत रुपान्तरणका अन्य क्षेत्र सम्बन्धि एजेन्डामा म क्रमशः प्रस्तुत हुनेछु)  

२०७८ असोज ३ 
विर्तामोड झापा

 

Skip This
Skip This
Logo