विधान अधिवेशनको संघारमा रहेको एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा उपमहासचिव घनश्याम भूसालले जारी स्थायी कमिटी बैठकमा दुईवटा बेग्लै प्रस्ताव पेस गरेका छन् ।
३ असोज अर्थात् हिजोको बैठकमा विधान महाधिवेशनका लागि प्रस्ताव गरिएको कार्यक्रम र संगठनात्मक प्रस्तावमाथि उनले आठ पृष्ठ लामो बुँदागत मत पेस गरेका छन् । आज जारी बैठकमा पनि उनले अर्को प्रस्ताव पेस गर्दैछन् ।
महाधिवेशनका लागि तय गरिएको पार्टीको कार्यक्रम संगठनात्मक प्रस्तावमा उनले समृद्धि र समाजवादको बाटो शीर्षका बेग्लै मत राखेका हुन् ।
प्रस्तावमा उनले जनताको बहुदलीय जनवादमाथि छलफल हुन छाडेको भन्दै यसमा घनीभूत छलफलको माग गरेका छन् ।
उनले प्रस्तावमा माओवादी केन्द्रसँगको एकताका बेला दुई अध्यक्षबीच भएका गोप्य सहमति र आलोपालो अध्यक्ष बन्ने व्यवस्थाप्रति आलोचना गर्दै यही कारण एकता नटिकेको पनि उल्लेख गरेका छन् ।
उनले अब पार्टीको कार्यदिशा र संगठनबारे व्यापक छलफल हुनुपर्नेसमेत प्रस्ताव गरेका छन् ।
‘पार्टीको कार्यदिशा र संगठनबारे, खासगरी तिनको संगतिबारे छलफल गरौं । त्यसपछि नवौँ महाधिवेशन, एकता प्रक्रिया र पार्टी विभाजनसम्मका घटनाबारे छलफल गरौँ,’ प्रस्तावमा भूसालले भनेका छन्, ‘त्यसले हामीलाई राजनीतिक प्रतिवेदन पूर्ण बनाउन, त्यसका आधारमा संगठनात्मक प्रस्ताव तयार गर्न र तिनमा उल्लेखित राजनीतिक र सांगठानिक जिम्मेवारी पूरा गर्नसक्ने संगठनलाई व्यवस्थित गर्न सक्ने विधान बनाउन बाटो देखाउने छ ।’
उनले आसन्न विधान महाधिवेशनको महत्वलाई ध्यान दिँदै नेपाली समाजवादी क्रान्ति र त्यससँग सम्बन्धित कार्यदिशा, कार्यक्रम, नवौँ महाधिवेशनपछि पार्टी कामको मूल्यांकनलगायतका विषयमा बेग्लै प्रस्ताव बैठमा पेस गर्ने बताएका छन् । यो प्रस्ताव जारी स्थायी कमिटी बैठकमा पेस गर्ने भूसालको भनाइ छ ।
नेकपा एमालेको प्रथम विधान महाधिवेशन (१५–१७ असोज, २०७८) का लागि प्रस्तुत गरिएको कार्यक्रमिक तथा सङ्ठनात्मक प्रस्तावमाथि उपमहासचिव घनश्याम भूसालको बुँदागत टिप्पणी
समृद्धि र समाजवादकोे हाम्रो बाटो
विषय सन्दर्भ
हाम्रो पार्टी नेकपा (एमाले)को विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधानका मस्यौदाहरुमाथि स्थायी कमिटी बैठकमा मेरा टिप्पणी र प्रस्तावहरु निम्नानुसार पेश गरेको छु ।
पार्टीका हरेक दस्तावेजले विभिन्न सन्दर्भ र विचारहरुलाई एउटा सूत्रमा उनेर एउटा विचार प्रणाली बनाउँछन् । ती हरेक घटना–सन्दर्भ र विचारहरु आफैमा र एकअर्कासँग सैद्धान्तिक तथा तार्किक रुपमा सङ्गतिपूर्ण हुनु पर्छ । हाम्रो आजको आम कार्यभार राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी हो भनेपछि त्यो कसरी सम्पन्न हुन्छ भन्ने कुराको प्रत्याभूति हाम्रो दस्तावेजले गर्दैन । हाम्रो लक्ष्य, कार्यदिशा,कार्यक्रम, सङ्गठन र कार्यपद्धतिको सङ्गतिपूर्ण व्याख्या यसमा छैन । त्यसले आजको कम्युनिष्ट आन्दोलनका समस्यालाई समाधान गर्न पार्टीलाई दिशाबोध गर्दैन ।
समाजको चरित्र र जनताको बहुदलीय जनवादजस्ता विषयको सैद्धान्तिक र तार्किकरुपले व्याख्या भएको छैन । सामन्तवाद, सामन्त वर्ग, सामन्तवादका अवशेषजस्ता प्रशङ्ले विषयलाई अल्मल्याउँछन् । वस्तुतः नेपालमा सामन्तवादको उन्मुलन भयो, यो समाज पुँजीवादी हो, त्यसमा दलाल पुँजीको वर्चस्व छ र त्यसलाई रुपान्तरण गर्दै, राष्ट्रिय पुँजीको विकास गर्दै र समाजवादको तयारी गर्दै जान्छौँ भनेर दस्तावेज अगाडि बढ्नु पर्छ । यस सन्दर्भमा मैले यहाँ हाम्रो दस्तावेजको एउटा रुपरेखा प्रस्तुत गरेको छु । केवल ३ दिनको समयमा त्यसभन्दा बढी गर्न सकिँदैनथ्यो । यसबारे गम्भीर छलफलको माग गर्दछु ।
जनताको बहुदलीय जनवादबारे हामीले क. मदन भण्डारीको देहान्तपछि छलफल गर्न छोडेका छौँ । उहाँले जनताको बहुदलीय जनवादलाई कार्यक्रमको रुपमा अगाडि सार्नु भएको थियो । छैठौँ महाधिवेशनमा त्यसलाई सिद्धान्त निर्माणको कुनै आधार नै नदिइकन सिद्धान्त भनियो । सातौँमा नयाँ केहि गरिएन । आठौँ महाधिवेशनमा जनताको बहुदलीय जनवादका विशेषता के के हुन् भनेर क. झलनाथ खनालले लामो व्याख्या गर्नु भयो तर सिद्धान्तको रुपमा त्यसको पुष्टि गर्नु भएन । त्यसका विशेषताहरुलाई क. वामदेव गौतमले पनि व्याख्या गर्नु भएको छ । तर जनताको बहुदलीय जनवादलाई हाम्रो क्रान्तिको सिद्धान्त बनाउँदा त्यसको परिभाषा ‘लोकतान्त्रिक बाटोबाट श्रमजीवी वर्गको पक्षमा समाजको रुपान्तरण’ भन्नु पर्छ भनेर मैले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको थिएँ । वस्तुतः त्यसबारे आवश्यक छलफल भएकै छैन ।
क. मदनले नयाँ जनवादी कार्यक्रममा १४ वटा विशेषता थपेको हुँदा त्यसलाई जनताको बहुदलीय जनवादी कार्यक्रम भन्नु पर्छ भन्नु भयो । ती १४ विशेषता हामीले अभ्यासनै गरिसकेका छौँ । वास्तवमा जनताको बहुदलीय जनवादले उल्लेख गरेभन्दा धेरै विषय हामीले अभ्यास गरिसकेका छौँ । यसर्थ अब पनि कार्यक्रमका रुपमा त्यसले हामीलाई मार्गदर्शन गर्छ भन्नु अतिशयोक्ति हुन्छ । र, यदि सिद्धान्तको रुपमा यसले हामीलाई मार्गदर्शन गर्छ भन्ने हो भने माथि मैले उल्लेख गरेको परिभाषाका आधारमा जनताको बहुदलीय जनवादको व्याख्या गर्नु पर्छ । सङ्क्षेपमा, यसले अझै छलफलको माग गर्छ ।
सङ्गठनात्मक प्रस्तावले अहिले हामीले भोगेका अनगिन्ती समस्याहरुको चीरफार गर्नु पथ्र्यो र त्यसको समाधान दिनु पथ्र्यो । अहिले हामीले यस पार्टीका सबै सदस्य बराबर छन्, उनीहरु कुनै गुटमा नलागी स्वाभिमानपूर्वक पार्टीमा बाँच्न सक्छन्, उनीहरुको मूल्याङ्कन एउटै मापदण्डका आधारमा गरिन्छ, उनीहरु दलाल पुँजीवादी र भद्दा संसदवादी रोगबाट आधारभूत रुपले मुक्त छन्, पार्टीका नीति–सिद्धान्तबारे जानकार छन् र त्यसप्रति प्रतिबद्ध छन् भन्ने कुरा दुनियाँसँग भन्न सक्नु पर्छ । तर अहिलेका समस्याको गहिराईको तुलनामा प्रस्तावित प्रस्ताव असाध्यै अपूर्ण छ ।
नवौँ महाधिवेशन, चुनावी गठबन्धन र पार्टी एकता हुँदै कम्युनिष्ट आन्दोलनमा हामीले निर्माण गरेको त्यस उँचाइको हाम्रो आन्दोलन आज किन यस अवस्थामा आयो भन्ने विषयमा दस्तावेजले जसलाई फराकिलो दृष्टिका साथ मूल्याङ्कन गरेको छैन । नवौँ महाधिवेशनको कार्यदिशा हाम्रो आन्दोलनको रक्षा र विकासका लागि औधि महत्वको छ । त्यसले समाजवादको कार्यदिशालाई जुन स्पष्टताका साथ अगाडि राखेको छ, त्यसलाई हामीले ध्यान दिएनौँ । त्यसबारे महाधिवेशनपछि कहिँ कतै छलफलसमेत भएन । एउटा पनि
प्रशिक्षण आयोजित भएन । पार्टीको एकिकरण मुलुकको आवश्यकता थियो तर जसरी एकता गरियो त्यसमा मुलुक र आन्दोलनको आवश्यकता प्रतिविम्बित भएन ।
प्रक्रियागत रुपमा के देखिन्छ भने त्यो एकता दुईजना अध्यक्षहरुको गोप्य पहलकदमी, आलोपालो लगायत सहमतिबाट शुरु भयो र त्यसैगरी अन्त्य भयो । हामीले त्यसक्रममा भएका सबै घटनालाई राखेर विश्लेषण गर्न सकेनौँ भने त्यसले हामीलाई पछिसम्म पनि दुःख दिनेछ । पार्टी विभाजन अनपेक्षित, बैरी हँसाउने घटना थियो । त्यसमा रहेका कमिकमजोरीबाट सिकेर, पार्टीका वैचारिक, सैद्धान्तिक तथा साङ्गठानिक प्रस्तावहरुमा समेत आधारित भएर भविष्यमा कम्युनिष्ट एकताको पहलकदमी हामी आफैले लिनु पर्नेछ । सरकारले गरेका कामहरु उल्लेख गरिएका छन् ।
खासगरी सडकलगायत अन्य केहि पूर्वाधारहरुमा सरकारले राम्रो काम गरेको छ । तर त्यसको मूल्याङ्कन पार्टीको कार्यदिशाका आधारमा अर्थात्, राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने कार्यदिशाको मापदण्डको आधारमा गरिएन भने वस्तुनिष्ठ मूल्याङ्कन हुदैन । दुर्भाग्यपूर्ण नै भन्नु पर्छ कम्युनिष्ट पार्टीको त्यस्तो ऐतिहासिक सरकारका नीति– योजनामाथि एउटा पनि बैठकमा छलफल भएन । त्यसैले यस विषयमा पनि छलफल अझ गम्भीर छलफल गर्नु पर्छ ।
मेरो प्रस्ताव के छ भने सर्वप्रथम पार्टीको कार्यदिशा र सङ्गठनबारे, खासगरी तिनको सङ्गतिबारे छलफल गरौं । त्यसपछि नवौँ महाधिवेशन, एकता प्रक्रिया र पार्टी विभाजनसम्मका घटनाबारे छलफल गरौँ । त्यसले हामीलाई राजनीतिक प्रतिवेदन पूर्ण बनाउन, त्यसका आधारमा सङ्गठनात्मक प्रस्ताव तयार गर्न र तिनमा उल्लेखित राजनीतिक र साङ्गठानिक जिम्मेवारी पूरा गर्न सक्ने सङ्ठनलार्ई व्यवस्थित गर्न सक्ने विधान बनाउन बाटो देखाउने छ ।
मैले माथि उल्लेख गरेझैँ आसन्न विधान महाधिवेशनको महत्वलाई ध्यान दिँदै नेपाली समाजवादी क्रान्ति र त्यससँग सम्बन्धित् कार्यदिशा, कार्यक्रम, नवौँ महाधिवेशनपछि पार्टी कामको मूल्याङ्कन लगायतका विषयमा विस्तृत प्रस्ताव पछि पेश गर्नेछु ।
घनश्याम भूसाल
३ असोज २०७८।
न्युज कारखाना





























प्रतिक्रिया