कसको कुरा पत्याउनेः प्रधानमन्त्री भन्छन् मन्त्रिपरिषद् छिट्टै, उपेन्द्र भन्छन् अहिले हुन्न

कसको कुरा पत्याउनेः प्रधानमन्त्री भन्छन् मन्त्रिपरिषद् छिट्टै, उपेन्द्र भन्छन् अहिले हुन्न

केन्द्रबिन्दु
0
Shares

सोमबार प्रतिनिधिसभाको बैठक सकेर सांसदहरू निस्किदै थिए। नेताहरू संचारकर्मी छल्दै हिँड्दै थिए, केही नेतालाई संचारकर्मीले घेरिहाले भने अन्य नेतालाई देखाउदै उनीहरू पन्छिदै थिए।

त्यतिकैमा प्रधानमन्त्री शेरबहादुर देउवा बैठक कक्षबाट निस्किए।

देउवा संचारकर्मीको सामुन्ने आइसकेपछि संचारकर्मीहरूले पनि उनलाई प्रश्न गरिहाले ‘प्रधानमन्त्रीज्यु मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ।’

प्रधानमन्त्री देउवा संचारकर्मीहरूलाई छल्दै निस्किदै थिए, फेरि केही संचारकर्मीहरूले प्रश्न गरे

‘भनिदिनुस् न, मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ।’

त्यसपछि मात्र देउवा बोले ‘अब छिटै पाउँछ’।

त्यसको केहीपछि संसद् भवनबाट बाहिरिएका सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि संचारकर्मीले त्यही प्रश्न गरे, ‘अध्यक्षज्यू मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ?’

संचारकर्मीको प्रश्न सकिन नपाउँदै यादवले भने,‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज नभएसम्म मन्त्रिपरषद्ले पूर्णता पाउँदैन।’

त्यसो त देउवा नेतृत्वको गठबन्धनको सरकार बनेको ६९ दिन भइसक्दासम्म पनि शेरबहादुर देउवाको सरकारले पूर्णता पाएको छैन । 

प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी ६ जनाले मात्रै मुलुक चलाइरहेका छन् । 

५ दलीय गठबन्धनको नेतृत्व गर्दै असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले मन्त्रिपरिषद्लाई पूर्णता कहिले दिने भन्ने टुंगो लगाइसकेका छैनन् । 

उनले जहिले पनि ‘छिट्टै पूर्णता पाउँछ’ भन्दै आएका छन् ।

सत्तारुढ गठबन्धनका अरु नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल पनि सोही बोली दोहोर्याउँदै आएका छन् । 

तर मन्त्रिपरिषद्लाई पूर्णता दिन भने सकस भइरहेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश कायमै हुँदा मन्त्रिपरिषद् बिस्तार हुन नसक्ने देखिएको छ।
 

Logo