३८ क्विन्टल सुन तस्करी एवम् मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा शुक्रबार १८ जना प्रतिवादीको पक्षमा बहस भएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीको प्रतिरक्षामा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र सुरेशलाल श्रेष्ठसहितका कानुन व्यवसायीले बहस गरेका हुन्।
अभियुक्तको बचाउमा अधिवक्ताहरु भरतबहादुर थापा, उद्धवचन्द्र घिमिरे, पुरुषोत्तम नेपाल, हरिनारायण चौधरी, रमिता महर्जन, लक्ष्मण शर्मा न्यौपाने, विनोद तिमल्सिना, खगेन्द्र ढकाल, विकाश थापा, केदारप्रसाद दाहाल र अपूर्व भण्डारीले बहस गरेको मोरङ अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए। उनका अनुसार १८ प्रतिवादीका पक्षमा १३ जना कानुन व्यवसायीले बहस गरेका हुन्।
प्रतिवादीमध्ये नेपाल प्रहरीका एसपी विकाशराज खनालको पक्षमा बरिष्ठ अधिवक्ता खनाल र अधिवक्ता विकाश थापाले बहस गरे। २०७१ चैतदेखि २०७२ पुससम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा एसपी खनालले सुन तस्करीमा सहयोग गरेको अभियोग छ। उनी विमानस्थलमा रहेकै बेलामा सबैभन्दा बढी तस्करीको सुन दुबईबाट नेपाल भित्रिएको अनुसन्धानबाट पत्ता लाग्यो।
अभियुक्तमध्येका एक जना मोहनको काफ्लेको घरबाट सुन तस्करको हिसाबकिताब राख्ने गरिएको डायरी बरामद भएको थियो। उक्त डायरीमा उल्लेख भएको ‘एसपी मामा’ भनिने नाम खनालको रहेको अनुसन्धानबाट पत्ता लागेको हो। सुन तस्करी एवं सनम हत्याका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीको समूहसँग साँठगाँठ गरेर खनालले सुन तस्करीमा सहयोग गरेको खुलेको थियो।
जिल्ला अदालत मोरङको आदेशबाट पूर्पक्षका लागि थुनामा पठाइएका खनाल पछि उच्च अदालत विराटनगरको आदेशबाट छुटेका थिए। सनमको हत्या भएपछि गोरेले उनलाई फोनमार्फत घटनाका बारेमा जानकारी दिएको पनि खुलेको छ।
‘गाडीमा सनमको शव ल्याएर त्रिशूली नदीमा फ्यालिदिनू, घटना कसैले थाहा पाउँदैन’ भनेर एसपी खनालले गोरेलाई सिकाएको अनुसन्धानका क्रममा पत्ता लागेको थियो। तर गोरेको समूहले उनले सिकाएजस्तो भने नगरेको पाइएको छ। सनमको हत्या हुँदा उनी चितवन प्रहरी प्रमुख थिए।अन्नपूर्णबाट





























प्रतिक्रिया