भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकको १० लाख सहयोग

भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकको १० लाख सहयोग

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकले रकम सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार रु १० लाख हस्तान्तरण गरेका छन् ।

भारत सरकारले पुनःनिर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि चासो नदेखाएपछि ‘ललितपुरको इतिहासमा दान दातव्य’ भन्ने नारालाई पाटनवासीले अघि बढाइ गतवर्षको असार १२ गते गाईको पुच्छरमा डोरी बाँधेर मन्दिरको गजुर निकाली भत्काउने काम शुरुआत गरेका थिए ।

मन्दिर पुनःनिर्माणमा स्थायनीयवासी आफैं जुटेपछि बैंकका अध्यक्ष श्रेष्ठले आफूलाई १० लाख सहयोग गरेको महर्जनले जानकारी गराए । उनले भने, “मुलुकमा कोरोना माहामारी आउनु अघि वाणिज्य बैंकले रु पाँच लाख, एभरेष्ट बैंकका अध्यक्षले रु एक करोड सहयोग गर्नुभएको थियो ।” सो मन्दिर पुनःनिर्माणमा तदर्थ समितिका सदस्यले रु ९० हजार र ललितपुर महानगरपालिकाले रु एक करोड दिइसकेको महर्जनले बताए।

‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक रु चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले जानकारी गराए । उनले भने, “कोभिड महामारीले मन्दिर पुनःनिर्माणमा केही ढिलाइ हुँदा हाल भूइँ तलाको काम समाप्त भयो भने पहिलो तलाको काम पनि सकिनै लागेको छ ।

विसं. २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र पटक–पटक आएको पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने, थाम, दलिन र बिम भाँच्चिएर भित्ता चिराचिरा भएका थिए । सो मन्दिर परिसरबाट आवतजावत गर्ने हजारौं स्वेदेशी र विदेशीलाई नोक्सानी पुग्ने डरका कारण पाटनका जनता मन्दिर पुनःनिर्माणमा अग्रसर भएर हाल धमाधम काम भइरहेको श्रेष्ठको भनाइ छ ।

मन्दिरको गजुर, तामा र धातुको पाता लगायत अन्य महत्पूर्ण वस्तु रेखदेखको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा रहेको छ । चार शताब्दी भन्दा पुरानो इतिहास बोकेको मल्लकालमा निर्मित भीमसेनको मन्दिर उपत्यकाकै नमूनाको धरोहरका रुपमा प्यागोडा शैलीमा निर्माण भएको थियो ।

मन्दिर निर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौंँ भ्याली प्रिजर्भेशन ट्रष्टले लिएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट, मङ्गल टोल सुधार समिति, ललितपुरभरिका जातीय समाज लगायत विभिन्न सङ्घ संस्था लागि परेका छन् ।

मन्दिरको माथिल्लो तल्लाको गजुर तथा धातुका छाना निकाल्ने तथा मर्मत पश्चात् पुनः राख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकारले लिएको र मन्दिरलाई चाहिने डाँची र ईट्टा दक्षिण बाराही ब्रिक फ्याक्ट्रिका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउने सङ्घले जनाएको छ ।रासस

Skip This
Skip This
Logo