नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा गर्यो । तर, बागलुङका केही स्थानीय तहले अझै उक्त घोषणा कार्यान्वयन गर्न सकेका छैनन् ।
सङ्घीय सरकार र स्थानीय सरकारको सझेदारीमा वृद्धि हुने भनिएको तलब केही स्थानीय तहमा भने वृद्धि हुन सकेको छैन । जिल्लाकै पुरानो नगरपालिका बागलुङ नगरपालिकाले बालविकास सहजकर्ताको मात्रै तोकिएअनुसारको तलब वृद्धि गरेको छ ।
बालविकास सहजकर्ताको तलब मासिक ६ हजारबाट वृद्धि भएर १५ हजार पुर्याइएको छ । विद्यालय कर्मचारी र सहयोगीको तलब तोकिएबमोजिम वृद्धि नभएको नेपाल विद्यालय कर्मचारी परिषद् बागलुङका अध्यक्ष ललितबहादुर क्षेत्रीले बताए ।
उनका अनुसार रु सात हजार मासिक तलब खाँदै आएका विद्यालय सहयोगीको तलब मासिक ८ हजार पुगेको छ । यो शिक्षा विभागले पठाउने सशर्त शीर्षकको तलब हो । ११ हजार पाँच सय रुपैयाँ तलब लिँदै आएका विद्यालय कर्मचारीको तलब १३ हजार पाँच सय पुर्याइएको छ ।
सङ्घीय सरकारले पठाउने बजेटमा स्थानीय तहले साझेदारी गरेर तलब वृद्धि गर्न भनेको थियो । तर, १८ हजार ५ सय पाउनुपर्ने विद्यालय कर्मचारीले १३ हजार ५ सय र १५ हजार पाउनुपर्ने विद्यालय सहयोगीले ८ हजार मात्रै पाउने भएका हुन् ।
“नगरसभाले बजेटको व्यवस्था गरेको रहेनछ, हामीले तोकिएबमोजिम दिन्छौं भनेर भएन, जे आउँछ त्यही दिने हो”, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भने ।
तोकिए बमोजिमको तलब नपाएकोमा विद्यालय कर्मचारी र सहयोगी आक्रोशित छन् । “अरु के के गर्न बजेट हुन्छ, श्रमजीवीलाई दिने बजेट नहुने ?”, तलब वृद्धिका लागि नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै क्षेत्रीले भने, “तोकिएबमोजिम तलब पाउनुपर्छ, नभए आन्दोलन हुन्छ ।”
प्राथमिक, आधारभूत र माध्यमिक गरेर तीन तहमा कार्यरत विद्यालय सहयोगीले तह अनुसारको तलव वृद्धि गरिएको हो । विद्यालय कर्मचारीको लागि १७ हजारसम्म पुर्याइएको छ । तर एकै पटक ठूलो आर्थिक भार थेग्न गाह्रो छ ।
बरेङ गाउँपालिका, गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाले भने तलब वृद्धि गरेका छन् । अन्य स्थानीय तहले भने तलब वृद्धि भएको विषयमा जानकारी सार्वजनिक गरेका छैनन् । रासस































प्रतिक्रिया