१०५ वर्षीय बृद्ध दम्पतीले लगाइदिए दसैंको टीका

१०५ वर्षीय बृद्ध दम्पतीले लगाइदिए दसैंको टीका

केन्द्रबिन्दु
0
Shares

आज विजया दशमीको दोस्रो दिन। हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन्। चितवनमा १०५ वर्षीय बृद्ध र ९८ वर्षीय बृद्धाले आफन्तहरुलाई टीका लगाइदिएका छन्।

भरतपुर महानगरपालिका–१० हाकिमचोकका १०५ वर्षीय टिकाराम ढकाल र ९८ वर्षीय रेवती ढकालले आफ्ना परिवारका आफन्तहरुलाई दसैंको टिका लगाएर आर्शिवाद दिएका छन्। उनीहरुका सात छोरा र एक छोरी छन्। उमेरले शताब्दी नाघेका बुबा र शताब्दी छुन लागेकी आमाको हातबाट दसैंको टीका लगाउन पाउँदा असाध्यै खुसी लागेको ठूलो कान्छा छोरा ईश्वरी ढकाल बताउँछन्।

ज्येष्ठ नागरिकहरु भनेका अनुभवका खानी हुन्। दसैंको प्रमुख विशेषता भनेकै आफूभन्दा मान्यजनबाट टीका ग्रहण गर्ने र आर्शिवाद लिने हो।

‘१०५ वर्षसम्म पनि उहाँको सेवा गर्दै उहाँहरुको काखमा बस्न पायौँ। रमाउन पायौँ। त्यो नै ठूलो कुरा हो’, ईश्वरी भन्छन्, ‘उहाँहरुलाई सेवा गर्दै गर्दा समाजले पनि धेरै प्रेरणा लिन पाएको छ भन्ने अनुभूति गरेको छु।’ नेपालमा बृद्ध बाबुआमालाई तिरस्कार गर्ने प्रवृत्ति रहेको भन्दै उनले त्यस्ता व्यक्तिले आफ्नो परिवारबाट पाठ सिक्न सक्ने बताए। 

बृद्ध दम्पत्ती ईश्वरी ढकालसँग हाकिमचोकमा आफ्नै घरमा बस्दै आएका छन्। ईश्वरी भने माडी नगरपालिका–२ का वडाध्यक्ष हुन्। उनी कहिलेकाँही भरतपुर आउँछन्। अन्य छोराहरु चितवनलगायत विभिन्न जिल्लामा बस्दै आएका छन्।

टिकारामले मान्छेलाई देख्ने बित्तिकै चिन्न भने सक्दैनन्। ‘एकछिन घोरिएर हेरेपछि बल्ल चिन्नुहुन्छ। नाम नभनेपनि फलानोको छोरो वा छोरी भन्नुहुन्छ’,  ईश्वरी भन्छन्, ‘बिहान ४ बजे उठेर नुहाई धुवाई आफैं गर्नुहुन्छ। खाना पनि आफैं खानुहुन्छ ’ रेवती भने क्यान्सरबाट ग्रस्त भएकी छन्। उनले नियमितरुपमा क्यान्सरको औषधि खाने गर्छिन्।

उमेरले डाँडो नाघेका बृद्धा बुबाआमाको हातबाट दशैँको टिका लगाउन पाउँदा साक्षत भगवानसँग आर्शिवाद लिएको अनुभव भएको नवराज ढकालले बताए। नाताले ठूलो बुबा र ठूली आमा पर्ने बृद्ध दम्पतीबाट टिका लगाएका नवराजले भने–‘१०५ वर्षीय बुबा र ९८ वर्षीय आमाको हातबाट टिका ग्रहण गर्न पाउँदा स्वर्गीय सुखको अनुभुती भएको छ।’

गत वर्ष कोरोनाका कारण उनले टीका लगाउन पाएनन्। ‘शताब्दी पुरुषसँग दशैँको टीका लगाएर आर्शिवाद लिन पाउने जो कोहीको नसिव हुँदैन’, उनी भन्छन्, ‘असाध्यै खुसी छु। अझ धेरै वर्षसम्म सँगै हुने चाहना छ।’ नवराज देवघाट क्षेत्र विकास समितिको सञ्चालक समितिको सदस्य पनि हुन्। छोराछोरीको अवहेलनामा परेका बृद्धा बुबा आमाहरुलाई समितिले देवघाटमा आश्रय पनि दिइरहेको छ। 

त्रेता युगमा आजकै दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष महत्वका साथ मनाइन्छ।न्युज कारखाना

Skip This
Skip This
Logo