कांग्रेसले आफ्नो आचरणमा सुधार नगरे आगामी चुनावको नतिजा अर्कै हुन सक्छः नेता सिंह

कांग्रेसले आफ्नो आचरणमा सुधार नगरे आगामी चुनावको नतिजा अर्कै हुन सक्छः नेता सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेतृत्वले पार्टीलाई बेथितीमा राखेको आरोप लगाएका छन्।

आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले नेपाली कांग्रेसलाई बेथितीमा राखेको आरोप लगाएका हुन्। उनले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वमा कब्जा गर्ने निहित उद्देश्यले अहिले पार्टीलाई नै अस्तव्यस्त पारेको बताउँदै कांग्रेसलाई सबल बनाउन र गुटबन्दीबाट मुक्त गर्नु अहिलेको आवश्यकता भएको बताए। उनले पार्टी सभापति देउवा कांग्रेसलाई गतिशिल बनाउन असक्षम सावित भइरहेको आरोप लगाए। 

नेता सिंहले मधेशमा नागरिकता दिन ढिलासुस्ती गरिएको बताउँदै यसलाई समाधान गर्न संविधानको मर्म र ऐनअनुरुप काम गर्नुपर्ने बताए। उनले नेपाली कांग्रेसको अहिलेसम्मको इतिहास हेर्दा १४ औँ राष्ट्रिय महाधिवेशन जस्तो किचलो र अस्तव्यस्त कहिल्यै नभएको बताउँदै अझै पनि दुई वटा जिल्लामा क्रियाशील सदस्यताको टुंगो नलागेको बताए।  

नेता सिंहले मधेसमा देखिएको नागरिकतासहितको समस्याहरुलाई अविलम्ब सरकारले समाधान गर्नुपर्नेमा जोड दिँदै कांग्रेसको कमजोरीका कारणले कम्युनिष्ट सत्तामा आएको र अहिले पनि कांग्रेसले आफ्नो आचरणमा सुधार गर्नुपर्ने बताए। 

पदाधिकारीहरुले महाधिवेशनलाई सामान्य रुपमा लिएर चार/चार पटक मिति परिवर्तन गरेको भन्दै उनले अब कुनै हालतमा पनि मिति सार्न नदिने दाबी गरे। आफ्नो स्वार्थ पूरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको नेता सिंहले बताए।

Logo