मुलुक संकटमा पर्दा कांग्रेसले नेतृत्व गर्दै जोगाउने गरेको इतिहास साक्षी छ: परराष्ट्रमन्त्री खड्का

मुलुक संकटमा पर्दा कांग्रेसले नेतृत्व गर्दै जोगाउने गरेको इतिहास साक्षी छ: परराष्ट्रमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको गठबन्धन सरकार संसदको बाँकी पुरै अवधि टिक्ने बताएका छन्। नेपालको संविधानले मध्यावधि वा अर्ली इलेक्सनको परिकल्पना नगरेको हुँदा र अर्को सरकार बन्ने संविधानतः विकल्प पनि नभएकोले बाँकी अवधि अहिले कै सरकार रहने बताएका हुन्।

गठबन्धनमा रहेका राजनीतिक दलबीच साझा सहमतिका एजेन्डाको आधारमा सरकार सञ्चालनको न्यूनतम साझा मापदण्ड बनाएर अघि बढ्ने दलीय सहमति भएको परराष्ट्रमन्त्री खड्काले जानकारी दिए। परराष्ट्रमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका उनले उदयपुरको चौदण्डिगढी नगरपालिका-८ स्थित सिद्धिपुरको वीरेन्द्र बजारमा आयोजित नेपाली कांग्रेसका बृहत् कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका थिए।

उनले संकटको समयमा कांग्रेसले सरकारको नेतृत्व लिएको बताएका थिए। मुलुक संकटमा पर्दा नेपाली कांग्रेसले नेतृत्व गर्दै जोगाउने गरेको इतिहास साक्षी रहेको उनले बताए। दुई तिहाइको सरकारले जनताले दिएको जिम्मेवारी वहन गर्न नसकेपछि मुलुकलाई राजनीतिक निकास दिनका लागि अहिलेको सरकार गठन भएको मन्त्री खड्काको दाबी छ।

केही विद्युतीय सञ्चार माध्यमले आफूले भनेको भन्दा फरक ढंगले समाचार प्रसारण गरी अनर्गल प्रचार गर्ने गरेकोमा दुःख व्यक्त गरे । लिपुलेक, कालापानी वा नेपालको सबै भूभागमा राष्ट्रिय जनगणनालगायतका कार्यक्रम निर्बाध सञ्चालन हुने उनले बताए। पत्रकार र कार्यकर्ताले यसै विषयमा आफूलाई प्रश्न गर्ने गरेको भन्दै परराष्ट्रमन्त्री डा. खड्काले नेपालको हितविपरित र दलीय सहमति बिना कुनै पनि हालतमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नहुने स्पष्ट पारे।

उदयपुरको विकराल समस्याको रूपमा रहेको त्रियुगा नदी कटानलाई रोक्न करिब आठ अर्बको लागतमा सम्पन्न हुने गरी त्रियुगा नदी नियन्त्रणको गुरुयोजना बनाएर राष्ट्रिय योजना आयोगबाट पास गराइ नदी नियन्त्रणको काम सुरु भएको उनले बताए। 

फरक प्रसंगमा बोल्दै उनले यो महिनाको अन्तिम साताबाट रोकिएका पार्टीका अधिवेशनले निरन्तरता पाउने बताएका थिए।

Skip This
Skip This
Logo