चाडपर्वको बेला मूल्यवृद्धि गरेको भन्दै कांग्रेस नेता सिंहले गरे सरकारको चर्को आलोचना

चाडपर्वको बेला मूल्यवृद्धि गरेको भन्दै कांग्रेस नेता सिंहले गरे सरकारको चर्को आलोचना

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको बेला जनतामा मारमा पार्नेगरी मूल्यवृद्धि गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

पूर्व-उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले जनतालाई राहत दिने बेलामा ग्यास, पेट्रोल, डिजेलसहितका दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि गरेको उल्लेख गर्दै तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

नेपाली कांग्रेस सुनसरी-काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा जाने बेलामा मूल्यवृद्धि गराएर आफ्नै पार्टी नेतृत्वको सरकारले जनतालाई जवाफ दिन सक्ने अवस्था समेत नबनाएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

नेता सिंहले भने, ‘दसैं भर्खर सकियो, तिहार आउँदैछ । छठ पर्व छ । काम के त भन्दाखेरी अहिले ग्यासको मूल्य बढायो । डिजेलको प्राइस हाइ गरायो । अहिले जनता र परिस्थितिले गर्दा कांग्रेसको नेतृत्वमा सरकार भएको छ । यो सरकारले गरेका हरेक कामको आउने चुनावमा त हामीले जवाफ दिनुपर्ने हुन्छ नि त । के यो चाहिँ राम्रो भयो त ? जनतालाई राहत दिने ठाउँमा जनतालाई मुस्किल हुने कामहरू त गर्नु भएन नि ।’ 

‘यो सरकारले आयल निगमदेखि सबै ठाउँमा मार्केटलाई कन्ट्रोल गर्नका लागि जुन मन्त्रालय छ, मेकानिज्म छ । ती सबै कुराहरूलाई त लागू गर्नु पर्‍याे नि त । आफूले गर्नुपर्ने काममा चाँहि वास्ता नगर्ने अनि त्यसको समाधान के हो त ? जनतालाई मार पार्ने गरी जुन यो मूल्यवृद्धि गरेको छ । यो चाँहि बिल्कूल डेमोक्रयाटिक पार्टीको लिडरसिपमा भएको सरकारले गर्न नमिल्ने काम गरेको छ । यसमा चाँहि सरकारले आफ्नो ध्यान दिन जरुरी छ भन्ने मलाई लागेको छ’, सिंहले थपे ।

नेता सिंहले सरकारले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने, जनतालाई राहत दिने काममा विशेष ध्यान दिन जरुरी रहेको पनि बताए । उनले १४ औं महाधिवेशनमा पुरानै नेतृत्वलाई निरन्तरता दिएर पार्टीलाई झनै कमजोर बनाउने गल्ती नगर्न नेता, कार्यकर्तालाई आग्रह समेत गरे । 

Logo