सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाँटेर समय व्यतित गरेको आरोप लगाएका छन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले विगतको सरकारले के गर्यो र गरेन भन्दा पनि वर्तमान सरकारले के गर्दैछ भन्ने कुरा महत्वपूर्ण हुने बताए। ओली सरकारले साढे तीन वर्ष गफमा बिताएको बताएका कार्कीले कांग्रेसको सरकार मुलुकको समृद्धि र विकास केन्द्रीत रहेको बताए।
शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले केन्द्रमा बनेको गठबन्धनको सहमति बमोजिम वर्तमान सरकार अघि बढेको बताए।
यसैबीच मन्त्री कार्कीले प्रदेश १ का नेपाली काँग्रेसका प्रदेश सांसदहरुलाई पार्टी निर्णय विपरित नजान निर्देशन दिए। मन्त्री कार्कीले प्रदेश सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पार्टी निर्णयको अक्षरस पालना गर्न निर्देशन दिएका हुन्।
मन्त्री कार्कीले प्रदेश एक सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केही कांग्रेस नेता तथा कार्यकर्ता ट्रयाक बाहिर जान खोजेको बुझिन आएको भन्दै त्यसो गरिए पार्टी हित विपरित ठहरिने बताए।
प्रदेश १ को सरकार नेकपा एसको नेतृत्वमा बन्ने बताएका मन्त्री कार्कीले गठबन्धनको निर्णय बमोजिम मुख्यमन्त्री चयन हुने बताए। कार्कीले नेपाली कांग्रेस गठबन्धनको निर्णय बमोजिम अघि बढ्ने भएकाले केही दिनभित्रै प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमै सरकार बन्ने बताए।































प्रतिक्रिया