नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय प्रणालीकै कलंकको संज्ञा दिएका छन्।
अध्यक्ष ओलीले सभामुख सापकोटाजस्तो संसदीय प्रणालीकै कलंकलाई फेरी संसदमा पाइला टेक्न नदिने गरी आगामी निर्वाचनमा हराउन पनि सिन्धुपाल्चोक जिल्लाका नेता, कार्यकर्तालाई निर्देशन दिए। नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सभामुख सापकोटाले सभामुखको गरिमामात्रै नराखेको नभई संसदीय व्यवस्थाको कुनै पनि मर्यादा कायम राख्न नसकेको गम्भिर आरोपसमेत लगाए।
अध्यक्ष ओलीले एमालेविरुद्धको षडयन्त्रमा सामेल भएर सभामुख सापकोटाले पदीय भूमिका, गरिमालाई बिर्सिएर तिलाञ्जली दिएको दावीसमेत गरे। उनले प्रचण्डको निर्देशनमा आफू प्रधानमन्त्री हुँदा संवैधानिक परिषदलाई अनिर्णयको बन्दी बनाउने काम गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देश बर्बाद पार्ने काममा मात्रै सरिक हुने पात्रको रुपमा चित्रण गरे। प्रचण्डले धक्का, छल्याङ भनेर आफैंलाई महाविपत्तितर्फ धकेल्दै लगेको अध्यक्ष ओलीको दावी छ।
अध्यक्ष ओलीले नेपाली कांग्रेस महाधिवेशनसमेत गर्न नसक्ने गरी बुढो भएको टिप्पणी गरे। उनले ५ वर्षभित्र गरिसक्नु पर्ने महाधिवेशन गर्न नसक्ने कांग्रेसले संवैधानिक रुपमा थप गरेर ६ महिनामा पनि गर्न नसकेर आफूलाई अशक्ति पार्टीको रुपमा उभ्याएको ओलीको भनाइ छ । उनले कांग्रेस जस्तो अशक्त पार्टीले आफ्नो पार्टीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नै नसक्ने दावीसमेत गरे।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा बालुवाटारमा करोडौंको भाडाकुडा किन्यो भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको पनि खण्डन गरे। उनले नयाँ नयाँ कथा हाल्ने नेताको रुपमा दाहाल रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री हुँदा करोडौंको भाडाकुडा किनेको भन्ने कुरा सत्य नभएको बताए। बरु आफूले घरबाटै लगेको भाडामा खानेकुरा बनाएर खाएको उनको स्पष्टिकरण थियो।
अध्यक्ष ओलीले आफ्नो पार्टी एकतावद्ध रहेको दावीसमेत गरे। उनले माधव नेपाललाई पार्टीभित्रै राख्नका लागि १० बुँदे सहमति गरेको पनि पटकपटक दोहोयाए।





























प्रतिक्रिया