वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायालय हाँक्न असक्षम रहेको बताएका छन् ।
आफूहरूले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असक्षम छन् भनेरै राजीनामा मागेको उल्लेख गर्दै थापाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताए । 'नेपाल बार फर्किँदैन। उहाँ अब कति बस्नुहुन्छ, एक वर्ष? कार्यकालभरि आन्दोलन गर्छौँ। हामी छोड्दैनौँ,' सर्वोच्च अदालत परिसरमा बारको कालोपट्टी विरोध कार्यक्रममा उनले भने ।
राजीनामा नदिए महाभियोग लगाउनुपर्ने भन्दै थापाले राजनीतिक दलहरू अहिले परीक्षामा रहेको बताए ।
'इजलासमा बस्दिन भनेर घोषणा गरिसकेपछि इजलास चलाउन नसक्ने यी प्रधानन्यायाधीशलाई हामीले प्रधानन्यायाधीश मानिराख्नुपर्ने अवस्था छैन,' उनले भने, 'जति सेवाग्राही मारमा छन्, त्यति नै हामी पनि मारमा छौँ।'
थापाले बारको आन्दोलन बिथोल्न गोप्य रूपमा कालो कोट र पैसा बाँडिएको आरोप लगाउँदै सार्वजनिक रूपमा बाहिर आएका प्रधानन्यायाधीशलाई पद बस्न नदिने चेतावनी दिए ।
'अदालतभन्दा पनि बार ठूलो । न्यायालयको संरक्षण गर्न बारले राजीनामा मागिसक्यो भने तपाई को हो राजीनामा नदिने ?' थापाले प्रश्न गरे, 'प्रतिकार गर्ने नाउमा कालो कोट बाँडिएको छ। पैसा बाँडिएको छ। पत्रकारलाई अन्य प्रकारले लोभ लालचमा फसाउन खोजिएको छ। कार्यक्रम गर्न खोजिएको छ भन्ने कुरा वस्तुनिष्ठ थाहा पायौँ भने तपाईँलाई त्यो पदमा बस्न दिन्नौ भन्ने घोषणा गर्छौँ। हाम्रो विनम्र अनुरोध छ, यसमा यो त्यो गरेर नखेल्नुस्।'
थापाले प्रशासनका मुख्य रजिस्ट्रार लगायत रजिस्ट्रार र अरू कर्मचारीलाई पनि प्रधानन्यायाधीशविरुद्ध एक हुन आग्रह गरे।
आफूहरूले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असक्षम छन्, राजीनामा दिनुपर्यो भनेको उल्लेख गर्दै थापाले थपे, 'अब उनले म मा के के असक्षमता छन् सुनुवाइ गरौँ भन्नुहुन्छ भने पूर्व न्यायाधीश, उहाँले छानेका न्यायाधीशहरू राखेर इजलास राखौँ । उहाँतिर हामी एकतिर तयार छौँ ।' न्युज कारखाना





























प्रतिक्रिया