प्रदेश १ः मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने, विपक्षीद्वारा राईलाई समर्थन

प्रदेश १ः मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने, विपक्षीद्वारा राईलाई समर्थन

केन्द्रबिन्दु
0
Shares

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतको प्रस्तावमाथि आज छलफल हुँदैछ। त्यसका लागि मध्यान्ह १२:३० बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।

एमालेका १० जना प्रदेश सांसद् नेकपा (एस)मा लागेपछि एकल बहुमतमा रहेको एमाले विभाजित भई मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन्। उनले विश्वासको मत जुटाउने सम्भावना कमजोर छ। 

यसअघिकै बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव टेबल भइसकेको छ। प्रदेश सभा सचिवालयले आजको बैठकको कार्यसूचीमा उक्त प्रस्तावमाथि छलफल र मत विभाजनको कार्यसूची तय गरेको छ।

विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्रीमा राईलाई समर्थन

प्रदेश नं १ का विपक्षी गठबन्धनले नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।
    
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी), जनता समाजवादी पार्टी नेपाल र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको आइतबार बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई  समर्थन गर्ने निर्णय गरेको हो।
     
नेकां संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अब बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए। मुख्यमन्त्री नियुक्तिपछि मन्त्रालय भागबण्डालगायत अन्य विषयमा छलफल गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए। 
    
बैठकले प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यको विपक्षमा मतदान गर्न सबै दलले सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको छ। प्रदेशसभामा ९२ सदस्य रहेकामा नेकपा (एमाले)सँग सभामुखसहित ४१ सांसद छन्। 
    
विपक्षी गठबन्धन नेकाँको २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जसपासँग तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सदस्य छन्। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची रहेको छ।

Logo