नेवार समुदायले आज म्ह: पूजा गरि तिहार मनाउँदै

नेवार समुदायले आज म्ह: पूजा गरि तिहार मनाउँदै

केन्द्रबिन्दु
0
Shares

नेवार समुदायले आज म्ह: पूजा मनाउँदै छन्। आज साँझ काठमाडौं उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले म्ह: पूजा गर्छन्। साँझ परिवारका सबै सदस्य जम्मा भएर म्ह: पूजा गर्ने प्रचलन छ। म्हः को शाब्दिक अर्थ देह या शरीर हो। यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो। यसरी आत्मको पूजा गर्नुलाई म्ह: पूजा भनिने संस्कृतविद् ओम धौँभडेलले बताए। 

प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाको दिन म्ह: पूजा गर्ने प्रचलन रहेको उनले बताए। उनका अनुसार  शरीरमा शान्ति नभइकन सर्वत्र शान्ति नहुने विश्वास अनुरुप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ। सोहि मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाइन्छ।
 
म्ह: पूजामा भाइटीकामा जस्तै विभिन्न रङ्गबाट मण्डप लेख्नुपर्ने र भाइटीकामा जस्तै विभिन्न प्रकारको फलफूल राखिनुपर्नेछ। घरको मुलीले परिवारको अन्य सदस्यलाई टीका, सगुन लगाई दिएर पूजा गरिन्छ। पूजा  सकिएपछि भोज खाने प्रचलन रहेको उनले बताए।

म्ह: पूजाले आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ। आजको दिन नेवार समुदायले चुल्हो, गाग्रीलगायत दैनिक प्रयोग हुने सामग्रीलाई पनि पूजा गर्ने प्रचलन छ। 

म्ह: पूजा गर्न विभिन्न रंगको प्रयोग गरी बनाइएको मण्डप, फलफूल, फूल, धूपबत्ती, जनैकोखा, अण्डा, माछा, मासु, अदुवा, लसून, दही, माछा (नभएमा मासु मात्र पनि राख्ने चलन छ)  लगायतको सामग्रीको आवश्यक पर्दछ।

Logo