कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको प्राङ्गणमा सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबराले अव पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरूको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताएका छन् । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी राख्ने बताएका हुन् । उनले प्रधानन्यायाधीश जबरालाई अव पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरूको आन्दोलनका सामना गर्न तयार रहन चेतावनी दिएका छन् । उपाध्यक्ष भट्टराईले भने, ‘हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो । कुनै पनि हालतमा नेपाल बार एसोसिएसन यो मागबाट बाहिरिने वाला छैन । नेपाल बार ब्याक हुनेवाला छैन । र देशभरका कानुन व्यवसायीहरू आन्दोलित हुनुपर्ने अवस्था आयो भने त्यो परिस्थितिको सामना गर्न प्रधानन्यायाधीश तयार हुनुपर्नेछ ।’
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको स्पष्ट पारेका छन् । उनले न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको बताएका छन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘आज न्यायपालिका प्रधानन्यायाधीशका कारण संकटमा परेको छ । न्यायपालिकामा हिजो समस्या थियो । तर आज न्यायपालिकामा संकट आएको छ । विवाद पहिलो पनि थियो । तर उहाँले संकट निम्त्याउनु भयो । न्यायपालिका समाप्त हुने विन्दुमा पुगेको छ । आज प्रधानन्यायाधीशजीले के भन्नु हुन्छ भने–मलाई संवैधानिक प्रक्रियाबाट हटाऊ । तर म प्रधानन्यायाधीशजीलाई प्रश्न गर्न चाहन्छु–उहाँले संविधानले तोकेको आफ्नो न्यूनतम केही भूमिका निर्वाह गर्नु भएको छ ? के आज उहाँले आफ्नो न्यायपालिकालाई नेतृत्व प्रदान गर्न सक्नु भएको छ ? आज उहाँको नेतृत्व सम्पूर्ण रूपमा असफल भएको छ । आज उहाँकै कारणले इजलास बस्न सकेको छैन । न्यायिक प्रक्रिया नै अवरुद्ध भएको छ । त्यसको सबैभन्दा ठूलो कारण उहाँ आफै हुनुहुन्छ । प्रधानन्यायाधीशका कारणले गर्दाखेरी यो न्यायपालिकामा सबैभन्दा ठूलो खतरा प्रधानन्यायाधीशको आचरणको कारण भएको छ । यो नेपालको न्यायिक इतिहासमै दुर्भाग्यपूर्ण कुरा हो ।’
नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय सदस्य रमनकुमार कर्णले न्यायालयलाई बचाउनका लागि पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिन ढिलाइ गर्न नहुने बताएका छन् । उनले प्रधानन्यायाधीश जबरा रहुन्जेल न्यायालय चल्नै नसक्ने दाबी समेत गरेका छन् । कर्णले भने, ‘हामी प्रधानन्यायाधीशको राजीनामा माग गरेर निरन्तर आन्दोलनमा छौँ । प्रधानन्यायाधीशको राजीनामा वकिलले माग गर्नु निश्चय नै दुःखद कुरा हो । तर बारले माग गरिसकेपछि प्रधानन्यायाधीशले राजीनामा नदिनु त्यो भन्दा पनि दुःखद कुरा हो । प्रधानन्यायाधीशले यो बुझ्नु पर्छ कि बार किन तपाईँको राजीनामा माग गर्न बाध्य भयो, विवश भयो ? बार र बेन्ज दुवैले तपाईँको राजीनामा माग गरिरहेका छन् । यस्तो अवस्थामा तपाईँसँग राजीनामाको विकल्प छैन । राजीनामा दिनुस् । मार्ग प्रशस्त गर्नुस् । तपाईँका लागि सबैभन्दा यही राम्रो हुन्छ । यो तपाईँको भलोको लागि होइन । आम नेपाली नागरिकको न्यायको लागि माग गरिएको हो । यो न्यायिक संस्थाका लागि तपाईँको राजीनामा माग गरिएको हो । तपाई रहुन्जेल अव यो संस्था चल्न सक्दैन । किनभने हिजो केही व्यक्तिहरू विवादित थिए । आज यो संस्थामाथि प्रश्न उठिसकेको छ । यो संस्थाको बचाउको लागि तपाईँले राजीनामा दिनु पर्यो ।’
नेपाल बार एसोसिएसनले मंगलबार बिहान साँढे १० बजे पनि सर्वोच्च अदालतको प्राङगनमा धर्ना दिने जनाउँदै त्यसमा सहभागी हुन कानुन व्यवसायीहरूलाई आह्वान गरेको छ ।































प्रतिक्रिया