लमजुङको क्व्होँलासोंथर गाउँपालिका–८ घाम्राङबेसीमा तितेपातीको व्यवसायिक तेल उत्पादन सुरु गरिएको छ। हिमालयन हर्बो सेन्टर घाम्राङ लमजुङले तेल उत्पादन सुरु गरेको हो।
साविकको भोजे गाविसको मिदीम नदी किनारमा मेसिन जडान गरी तितेपातीको तेल उत्पादन थालिएको हो। यसको परीक्षण उत्पादन दुई वर्ष अघि नै सफल भएको हिमालयन हर्बो सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले बताए।
उनका अनुसार ६ सय केजी तितेपातीबाट एक लिटर तेल निस्कन्छ। तितेपाती प्रतिकेजी चार रुपैयाँमा आफूहरूले गाउँलेहरूसँग खरिद गर्ने गरेको गुरुङले बताए। उनका अनुसार सो मेसिन जडान गर्नका लागि २६ लाख रुपैयाँ खर्च लागेको छ।
१४ लाख रुपैयाँ डिभिजन वन कार्यालय लमजुङबाट अनुदान प्राप्त भएको र बाँकी रकम कम्पनीका सञ्चालक चार जनाले संकलन गरी सञ्चालन गरिएको हो।
तितेपातीको तेल अमेरिका, जापान, युरोपमा बिक्री गरिन्छ। ठूलो परिमाणको तेल उत्पादन नभएकाले हिमालयन हर्बो सेन्टरले विक्री गर्ने अध्यक्ष गुरुङले बताए।
उनले भने, ‘यस तेलको बजार मूल्य प्रति लिटर गत वर्ष त नौ देखि १० हजार रुपैयाँ थियो । अहिले लकडाउनका कारण ६ हजारमा झरेको छ।’ एक वाहन तेल निस्कन चार घण्टाको समय लाग्छ। त्यसपछिका तीन घण्टामा पातीको प्रशोधन भई तेल निस्कन्छ। एक बाहनका लागि ५ भारी (डोको) दाउरा लाग्ने र त्यो प्रति भारी एक हजार आठ सयमा खरिद गर्ने गरेको अध्यक्ष गुरुङले बताए।
उक्त कम्पनीले एक मिस्त्री र एक सहायकलाई पुरा समयकाे नोकरी र एक जनालाई आंशिक काम दिएको छ भने दिनमा सात जनादेखि १५ जनासम्मले तितेपाती कम्पनीमा ल्याउने गरेको कम्पनीका सेयर सदस्य खड्गबहादुर परियारले बताए। उनले भने, ‘हामीले कम्पनीको चालु पूँजी आठ लाख रुपैयाँ राखेका छौं।’
तितेपातीसँगै गाउँमा अब रोजमरी, तुलसी, जेनेमियमको उत्पादन थाल्ने परियारले बताए। उनले भने, ‘त्यसका लागि हर्बो कम्पनीले नै नर्सरी स्थापना गरी विरुवा उत्पादन गरेर खेती गर्न चाहने किसानलाई वितरण गरेको छ।































प्रतिक्रिया