पूर्वमन्त्री एवम् विश्व शिखर सम्मेलनका विशेषदूत एकनाथ ढकालले विहारको पटना स्थित नालन्दा विश्वविद्यालयमा आयोजित “कोभिडपछिको विश्वव्यवस्था निर्माणमा धर्म धम्म परम्परा” विषयक तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन्। सम्मेलनमा ४० जना प्रतिष्ठित वक्ताहरुमध्ये भारतका उपराष्ट्रपति भेनकाया नायडु, विहारका मुख्यमन्त्री, नितेशकुमार, भारतीय जनता पार्टीका पूर्व राष्ट्रिय महासचिव राम माधव लगायत थिए।
सम्मेलनमा हजारौं भारतीय सहभागीहरुका साथमा २ सय भन्दा बढी विदेशी पाहुनाहरु, उल्लेख्य विद्वत् वर्गहरुलाई आमन्त्रण गरिएको थियो। सम्मेलनले विश्वका शिक्षाविदका साथसाथै नीति निर्माताहरु, भारत तथा विदेशका धार्मिक अगुवाहरुलाई कोभिडपछिको विश्वव्यवस्था निर्माणका लागि सम्भावनाहरुको खोजी गर्नका लागि मञ्च प्रदान गरेको थियो।
नालन्दा विश्वविद्यालय तथा इन्डिया फाउण्डेसनको विशेष अतिथीका रुपमा त्यहाँ पुगेका पूर्वमन्त्री ढकालले सम्मेलनलाई सम्बोधन गर्दै नेपाल तथा भारतले आफ्नो सांस्कृतिक तथा ऐतिहासिक विरासतको बहुमूल्य अंशका रुपमा गर्वका साथ साझेदारी गर्ने धर्म धम्म परम्पराले एशियाका बहुसंख्यक दृष्टिकोणमा प्रभाव पारेको छ र विश्वलाई शौर्य एवं शान्त्वना र भरोशा प्रदान गरेको छ भन्ने विचार प्रस्तुत गरे। ढकालले मानव र प्रकृतिबीचको सामञ्जस्यपूर्ण सहअस्थित्वलाई समेट्नुपर्ने कुरामा पनि जोड दिए। महामारीको समस्याबाट अघि बढ्न तथा कोभिडपछिको विश्वलाई स्वस्थ र सुखी बनाउनका लागि सम्मेलन फलदायी हुने आफूले विश्वास गरेको कुरा बताए।
सम्मेलनले स्वास्थ्य, मानव कल्याण, जलवायु परिवर्तन, सामाजिक एकीकरणसँग सम्बन्धित अहिलेको समयका जल्दाबल्दा विषयहरुको उठान गरेको थियो। नेपाल परिवार दलका अध्यक्षसमेत रहेका ढकालले आफ्नो सम्बोधनमा व्यक्तिगत तथा राष्ट्रिय स्वार्थ भन्दा पनि दीगो शान्ति, विश्वव्यापी स्वास्थ्य, न्याय तथा भाइचारा, समानता, हेरचाह, साझेदारी, मानवीय खुशी जस्ता कुराहरुले संसारलाई चलायमान बनाउनु पर्नेमा पनि जोड दिए।
ढकालले विहार राज्यका मुख्यमन्त्री नितेश कुमारसँग पनि संवाद गरेका थिए भने नेपालको छिमेकी राज्य बिहारको मानव जीवन उत्थान, तीव्र आर्थिक विकासमा उनको सक्षम नेतृत्वको प्रशंसासमेत गरे। भारतको निकटतम छिमेकी देशबाट आएका पाहुनालाई भेट्न पाउँदा आफूलाई खुशी लागेको कुरा मुख्य मन्त्रि नितेश कुमारले व्यक्त गरे।
सम्मेलनका क्रममा ढकालले श्रीलंका सरकारका यातायात मन्त्री, विष्णुमोहन फउण्डेसनका श्री साधु भद्रेस दास, नालन्दा विश्वविद्यालयका उपकुलपति प्राध्यापक सुनैना सिंह लगायतसँग पनि बहुपक्षीय बिषयमा छलफल गरेका थिए। पूर्वमन्त्री ढकालका साथमा नेपाल परिवार दलका प्रवक्ता सन्तोषकुमार पौडेल तथा सोही दलका दक्षिण एशिया मामलाका प्रमुख कृष्ण अधिकारी सामेल थिए। ढकालको भारतको मैत्रीपूर्ण भ्रमणले नेपाल र भारतका जनताबीचको सम्बन्धलाई थप प्रागाढ बनाएको कुरा प्रवक्ता पौडेलले बताए।































प्रतिक्रिया