समन्वय समितिले सरकारको काममा कुनै पनि प्रकारको हस्तक्षेप गर्दैन: वरिष्ठ पौडेल

समन्वय समितिले सरकारको काममा कुनै पनि प्रकारको हस्तक्षेप गर्दैन: वरिष्ठ पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् ।

मंगलवार वरिष्ठ नेता पौडेलले सरकार जनता र संसद्प्रति उत्तरादायी निर्वाचित संस्था भएको उल्लेख गर्दै पाँच दलीय गठबन्धन समन्वय समितिले सरकारको कुनै पनि काममा हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन । वर्तमान राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्न र लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसैको समन्वय गर्नका लागि समन्वय समिति बनाइएको बताए । 

 

उनले भने – ‘सरकार भनेको जनताप्रति उत्तरदायी निर्वाचित संस्था हो । त्यो सबै किसिमले जनताप्रति, संसद्प्रति उत्तरदायी बन्छ । त्यसकारण उसको काममा हामीले दक्खल दिने कुरो गर्नु हुन्न । लोकतन्त्रवादीको नाताले सरकारको क्रियाकलाप, गतिविधिमा हस्तक्षेप गर्ने अथवा त्यसलाई दक्खल दिने कुनै पनि कुरा गर्न उचित हुँदैन । अहिले यो किन आवश्यकता भयो भने यो पाँच दलको गठबन्धनले अहिले पनि लोकतन्त्रको रक्षाको लागि, व्यवस्थाको रक्षाको लागि, सत्ताको कुरा होइन व्यवस्थाको रक्षाको लागि । मैले जहिल्यै पनि भन्छु म सत्तालाई भन्दा अहिलेको अवस्थामा व्यवस्थालाई महत्त्व दिन्छु भनेर, किनभने व्यवस्था सुनिश्चित गर्नुछ नेपालमा । व्यवस्थाको टुंगो नलागेर, व्यवस्थालाई अस्थिर गराउने खेलहरुले गर्दा नेपाली जनताले दुःख पाएका छन् । त्यसो भएको हुनाले यो पाँच दलले व्यवस्थालाई सुनिश्चित गर्नका लागि, लोकतन्त्रलाई सुनिश्चित गर्नका लागि, राष्ट्रियतालाई स्थिर दिशामा अगाडी बढाउनको लागि पाँच दलले योगदान गर्न सकुन् भनेर त्यसलाई समन्वय गर्नका लागि बनेको कमिटी हो यो ।’

वरिष्ठ नेता पौडेलले यस समन्वय समितिलाई कसैले राजनीतिक हतियारको रूपमा प्रयोग गर्नु नहुने बताए । समन्वय समितिको काम व्यवस्थामाथि आइपर्ने समस्याहरूको बारेमा पाँच दलीय गठबन्धनलाई सजग राख्दै गठबन्धनलाई संगठित राख्नु र समझदारी कायम राख्नु रहेको उनले उल्लेख गरे । 

उनले भने – ‘कसैले उपयोग गर्ने अथवा सरकारको काममा दक्खल दिने रूपमा यसलाई हतियार कसैले बनाउने यो कुरा हामी मान्दैनौँ । यसले सरकारको काममा हस्तक्षेप गर्ने, दक्खल गर्ने काम गर्नै हुन्न । यसलाई केवल व्यवस्था माथि आइपर्ने समस्याहरु जे हुन्छन् त्यसमा मात्रै देशलाई सजग राख्ने हो । पाँच दललाई सजग राख्ने हो । पाँच दललाई संगठित राख्ने हो । पाँच दललाई व्यवस्थाको रक्षाको लागि, संविधानको रक्षाको लागि, राष्ट्रियताको रक्षाको लागि यो पाँच दललाई संगठित राख्ने र समझदारी र सहकार्ययुक्त बनाएर लैजाने ।’

उनले पाँच दलीय गठबन्धन समन्वय समितिको संयोजकको रूपमा आफू रहे पनि नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीतिमा सभापति शेरबहादुर देउवासँगको लडाइँ भने कायमै रहने बताएका छन् । समग्र व्यवस्थाको हित रक्षाको निम्ति एकै ठाउँ, एउटै सोचाइ र सहयोगात्मक सम्बन्ध भए पनि पार्टी भित्रको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भने जहाँको त्यहीँ रहेको उनले प्रस्ट्याएका छन् । आगामी महाधिवेशनमा खुलम् खुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा हुने उनले बताए । 

उनले भने – ‘हिजो जुन हाम्रो आन्तरिक लोकतान्त्रिक लडाइँ, आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा जहाँ थियो, जहाँ छ त्यो त्यहीँ रहन्छ र त्यही अगाडी बढ्छ । महाधिवेशनमा खुल्लम् खुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा हुन्छ । लोकतान्त्रिक प्रतिस्पर्धा, लोकतान्त्रिक मर्यादाभित्र रहेर हुन्छ । के कमी कमजोरी हुन्, त्यसलाई हटाउने उद्देश्य राखेर खुल्लम् खुल्ला आम कार्यकर्तालाई अपिल गरेर उनको साथ लिएर पार्टीमा सुधार ल्याउने कुरा अगाडी नै बढ्छ । तर यतापटी यो व्यवस्थाको बारेमा, राष्ट्रको संवैधानिक संकटका बारेमा, कुनै पनि किसिमका अरु खेलहरु नखेलिउन् लोकतन्त्रका विरुद्धमा, त्यतापटी मात्र सजग रहनका लागि मात्रै यो कमिटीमा रहन आफुलाई मैले स्वीकार गर्या हो ।’

वरिष्ठ नेता पौडेलले समन्वय समितिमा देशमा हाल देखा परेका संकट र सकंट समाधानका निम्ति गठबन्धनले अपनाउनुपर्ने सावधानी र सजगताको सम्बन्धमा छलफल गरिने पनि बताएका छन् ।

Skip This
Skip This
Logo