विश्वकपमा खराब प्रदर्शन गरेको भारतले न्यूजिल्यान्ड भ्रमणका लागि रोहित शर्मालाई कप्तानको जिम्मेवारी दिएको छ।
नोभेम्बर १७ बाट सुरु हुने न्यूजिल्यान्डविरुद्ध तीन टी-२० खेल शृंखलामा शर्माले १६ सदस्यीय टोलीको नेतृत्व सम्हाल्नेछन्। केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिइएको छ।
न्यूजिल्यान्डविरुद्धको शृंखला नयाँ प्रशिक्षक राहुल द्रविडका लागि समेत पहिलो परिक्षण हुनेछ।
आइसीसी टी-२० विश्वकप क्रिकेटपछि कप्तानबाट हट्ने घोषणा गरेका विराट कोहलीलाई न्यूजिल्यान्डविरुद्धको भ्रमणका लागि घोषणा गरेको टोलीमा समावेश गरिएको छैन।
यसपटक भारतीय टोलीमा वेनकटेस अैयर, आभेस खान र हर्षल पटेललाई पनि समावेश गरिएको छ। त्यस्तै श्रेयस अैयर, मोहम्मद सिराज र युज्वेन्दर चाहलले भने टोलीमा पुनरागमन गरेका छन्।
यस संस्करणको विश्वकपमा उपाधिको दाबेदार मानिए पनि भारतको यात्रा सुपर १२ मा सीमित भएको थियो।
भारतको टोली
रोहित शर्मा, लोकेश राहुल (उपकप्तान), ऋतुराज गायकवाड, श्रेयस ऐर, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), वेंकटेश ऐर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चारह, हर्षल पटेल र मोहम्मद शिराज।
विराट कोहली: खेलाडी महान्, कप्तानी भने ‘फ्लप’
टी-२० विश्वकप २०२१ मा भारत समूह चरणबाटै घर फर्किएको छ। उसले अब साेमबार अन्तिम खेलमा नामिबियाको सामना गरेकाे छ। टी-२० कप्तानको रूपमा विराट कोहलीको यो अन्तिम खेल हाे।
यस्तो अवस्थामा कोहली अन्तिम खेलमा सुखद बिदा चाहन्छन्। कप्तानको रूपमा कोहलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। कप्तानको रूपमा उनको प्रदर्शन पनि राम्रो रहेको छ। तर, आईसीसी प्रतियोगिताका ठूला खेलहरूमा उनको कप्तानीको चमक फिक्का भएको छ। विराटले अहिलेसम्म ६५ टेस्ट खेलमा भारतको कप्तानी गरिसकेका छन्।
जसमा टोलीले ३८ खेल जितेको छ, जुन कीर्तिमान हो। योसँगै विराट कोहली एमएस धोनी, मोहम्मद अजहरुद्दिन पछि एक दिवसीय अन्तर्राष्ट्रियमा भारतका तेस्रो सफल कप्तान हुन् ।
विराटले अहिलेसम्म ९५ एक दिवसीय खेलमा भारतको कप्तानी गरेका छन्, जसमा भारतले ६५ खेल जितेको छ। यसबाहेक विराटले अहिलेसम्म ४९ टी-२० खेलमा भारतको नेतृत्व गरेका छन्।
कप्तानको रूपमा कोहलीको रेकर्ड
३३ वर्षीय कोहली टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने भारतीय कप्तान हुन्। उनले अहिलेसम्म भारतका लागि ६५ टेस्ट खेलमा ५६.११ को औसतमा ५६६७ रन बनाएका छन्। यस अवधिमा उनको ब्याटले २० शतक र १७ अर्ध शतक प्रहार गरेको छ।
कोहली एक दिवसीय अन्तर्राष्ट्रियमा धोनीपछि दोस्रो सर्वाधिक रन बनाउने भारतीय कप्तान हुन्। कप्तानको रूपमा उनले अहिलेसम्म ९५ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा ७२.६५ को औसतमा ५ हजार ४ सय ४९ रन बनाएका छन्।
यस अवधिमा उनको ब्याटबाट २१ शतक र २७ अर्ध शतक प्रहार भएका छन्। योसँगै विराट अस्ट्रेलियाका कप्तान आरोन फिन्चपछि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन्। कोहलीले अहिलेसम्म ४९ टी-२० अन्तर्राष्ट्रियमा कप्तानको रूपमा १५७० रन बनाएका छन्।
‘फ्लप’ कप्तान
विराटको कप्तानी आईसीसी टूर्नामेन्टका ठूला खेलहरूमा पूर्ण रूपमा फ्लप भएको छ। विराटाको कप्तानीमा भारत २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग १८० रनले पराजित भएको थियो।
उक्त खेलमा विराट कोहलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। त्यसको पूरा फाइदा उठाउँदै पाकिस्तानी टोलीले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३३८ रन बनायो। सन् २०१९ को विश्वकपमा भारतले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनायो।
तर, निर्णायक खेलमा उनी फेरि एक पटक फ्लप साबित भए। उक्त सेमिफाइनलमा न्युजिल्याण्डसँग भारत १८ रनले पराजित भएको थियो। टेस्ट क्रिकेटमा भारतको उत्कृष्ट प्रदर्शनलाई हेर्दा, आईसीसी टेस्ट च्याम्पियनसिपको उपाधि जित्ने अपेक्षा गरिएको थियो।
तर, साउथह्याम्पटनमा भएको फाइनल खेलमा विराटको भाग्यले फेरि धोका दिएको थियो। टस हार्नु मात्र होइन भारतले आठ विकेटले हार व्यहोरेको थियो।
साथै, लामो समय आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानी गरे पनि उनको टोलीले अहिलेसम्म कुनै उपाधि जित्न सकेको छैन। यसैलाई कारण मान्दै कोहलीले आइपिएलको कप्तानी छाड्ने घोषणा गरेका छन्।
अहिले चलिरहेको टी-२० विश्वकपमा भारतीय टोली उपाधिको दाबेदार मानिएको थियो। तर, पाकिस्तान र न्युजिल्यान्डविरुद्धको खेलमा ब्याटिङ र बललिङ दुवैमा भारतीय टोलीको प्रदर्शन निराशाजनक रह्यो। योसँगै विराटको भाग्यले दुवै खेलमा धोका खायो र उनी टस जित्न पनि असफल भए।































प्रतिक्रिया