डोल्पामा २ सय ८० घरधुरीलाई नि:शुल्क सोलार वितरण गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न वडाका सर्वसाधारणलाई सोलार वितरण गरिएको हो।
वैकल्पिक ऊर्जा परिवर्द्धन केन्द्र काठमाडौंको अनुदान सहयोगमा नगरपालिकाअन्तर्गतका वडा नम्बर १ का ४०, वडा नम्बर २ का ७१, वडा नम्बर ३ का ३५, वडा नम्बर ४ का ३५,वडा नम्बर ७ का ४०, वडा नम्बर ८ का ३५ गरेर कूल २ सय ८० घरधुरीलाई सोलार वितरण गरिएको हो।
कार्यवाहक नगर प्रमुख चन्द्राकुमारी बुढाको रोहबरमा ८० वाटको सोलार, ब्याट्री, तार, बल्बलगायत सामानसहित नि:शुल्क सोलार वितरण गरिएको सौर्य इनर्जी डोल्पाका प्रतिनिधि लिलराज रोकायले बताए।
डोल्पासम्म सिधा यातायातको सुविधा नहुँदा वर्षातको समयमा एक दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दै अनेक दुःख कष्ट झेलेर सोलार ढुवानी गर्न सफल भएको रोकायको भनाइ छ।
दैनिक घण्टौ लोडसेडिङको मारले अँध्यारोमै जीवन गुजारा गरिरहेका ग्रामीण गाउँ बस्तीका नागरिक सोलार पाएपछि खुसी भएका छन्।
त्रिपुरासुन्दरी नगरपालिकाका सत्र सय घरधुरीले सोलारको लागि आवेदन दिएका थिए। प्रतिघरधुरी एक सय रुपैयाँ र नागरिकताको फोटोकपी बुझाएका १४ सय २० घरधुरीले सोलार पाएनन्।
वैकल्पिक ऊर्जाले माग गरेजति सबै सोलार नदिएपछि आवेदन दिएका सबैघरधुरीले सोलार नपाएको नगरपालिकाले बताएको छ।
'सुरुमा एक सय रुपैयाँ र नागरिकता पेस गर्दा अनुदानमा सोलार पाइने भयो भनेर धेरै खुसी थियौं। अहिले अन्तिममा आएर नगरपालिकाले ऊर्जाले पठाएको नामलिष्टमा नाम छैन भनेर भन्यो', त्रिपुरासुन्दरी नगरपालिका १ का प्रेम शाहीले भने।
'गरिब विपन्नका लागि सोलार भनिएको थियो। तर, कतिपय हुनेखाने र नेता तथा जनप्रतिनिधिलेनै सोलार पाए। वास्तविक विपन्न पनि छुटेका छन्', उनले भने।
एकप्रति नागरिकताको फोटोकपी र एक सय रुपैयाँ उठाएका चौध सय २० घरधुरीका सबैले सोलार नपाएपछि विवाद उत्पन्न भएको छ। सबै नागरिकको नाम सोलार पाउने सूचीमा छनोट नभएपछि विवाद भएको हो।
सोलार पाउने व्यक्तिको नाम छनोटका विषयमा यता वडाका कतिपय जनप्रतिनिधिलाई थाहै नभएको बताएका छन्। आफ्नै वडामा पनि सोलार पाउनेको नाम पनि के कसरी छानियो आफूलाई थाहा नभएको वडा नम्बर १ का अध्यक्ष कर्मसिंह थापाले बताए।
यस विषयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत सौर्य तथा वायु ऊर्जा शाखाका सहायक निर्देशक डा. लक्ष्मण प्रसाद घिमिरेसँग बुझ्दा नगरपालिकालेनै नाम छनोट गरेर पठाएकाले त्यसैका आधारमा सूची प्रकाशित गरिएको बताए। 'नगरपालिकाबाट सत्र सय घरधुरीकै नाम आएको थियो। माग भएजति सबैलाई सोलार दिन नसकिने भयो। फेरी सोलार पाउनै पर्ने बत्ती नपुगेका, विपन्न घरधुरीको नाम छनोट गरेर पठाउन भन्यौं। उताबाट जुन नाम आयो तिनैको नाम हालियो। हामीले नाम छनोट गरेका होइनौं', घिमिरेले भने।





























प्रतिक्रिया