दसौँ राष्ट्रिय महाधिवेशन: अधिकांश जिल्लाबाट एमालेका प्रतिनिधि छानिए

दसौँ राष्ट्रिय महाधिवेशन: अधिकांश जिल्लाबाट एमालेका प्रतिनिधि छानिए

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भएको छ। पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ। 

अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको एमालेले जनाएको छ। पार्टीले कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देश गरेको थियो। 

एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रतिनिधि चयन भएका जिल्लाहरुमा प्रदेश नं १ को  पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, खोटाङ र भोजपुर, वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर, उपत्यका विशेष कमिटीको पेसागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटीमा प्रतिनिधि छनोट भएको छ।

यसैगरी गण्डकी प्रदेशमा गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ, लुम्बिनी प्रदेशमा गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, रुकुम, रोल्पा, बाँके र बर्दिया, कर्णाली प्रदेशमा हुम्ला, डोल्पा, मुगु, कालीकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा चयन कार्य सम्पन्न भइसकेको छ। कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा चयन प्रक्रिया जारी छ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक २६ गते सन्देश जारी गरी उच्च समझदारीका साथ प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यहरूलाई आह्वान गरेका थिए। गत असोजमा विधान महाधिवेशन सम्पन्न गरेको एमालेले नयाँ नेतृत्व चयनका लागि आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा राष्ट्रिय महाधिवेशन गर्दैछ। सो पार्टीले एक हजार ९९९ प्रतिनिधि चयन हुने जनाएको छ। त्यसको पाँच प्रतिशतसम्म मनोनीत प्रतिनिधि हुन सक्नेछन्।

Skip This
Skip This
Logo