मुस्ताङ हिमपहिरो अपडेट: ‘नागरिकको जीवनरक्षामा दिनभर खटियौँ’

मुस्ताङ हिमपहिरो अपडेट: ‘नागरिकको जीवनरक्षामा दिनभर खटियौँ’

केन्द्रबिन्दु
0
Shares

मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकबाट आइतबार बिहान अप्रत्याशित रुपमा भीषण हिमपहिरो खसेपछि मानवीय क्षति रोक्न दिनभर नै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधि सक्रिय भएका थिए। 

सुरक्षा अधिकारी घटनास्थलमा जान नसके पनि नजिकका बस्तीमा पुगेर मानवीय क्षति रोक्न दिनभर नै खटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। पहिलो काम नागरिकको जीवनरक्षा भएकाले प्रभावित क्षेत्रमा पुगेर सचेत गराउन दिनभर नै खटिएको उनले जानकारी दिए। प्रजिअ शर्मा आफैँ हिमपहिरो प्रभावित क्षेत्र आसपासका गाउँमा दिनभर नै थिए। 

“पुनः हिमपहिरो आउन सक्ने सम्भावनालाई मध्यनजर गरी खोला आसपास हिँडडुलमा सावधानी अपनाउन र नजिक प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित बस्न सचेत गराउने काम भयो”, उनले भने, “मानवीय क्षति नहुनु नै महत्वपूर्ण उपलब्ध मान्नुपर्छ।” उनका अनुसार केहीअघि मात्रै सुरक्षा समितिको बैठकमार्फत क्षतिको विवरण सङ्कलन गर्ने र प्रभावितलाई सुरक्षित गर्ने कुरामा जोड दिइएको छ। सोमबार भने माथिल्लो भेगमा पुगेर चौरी चरण क्षेत्रमा भएको क्षतिको विवरण लिने तयारी गरिएको छ। घटना हुने वित्तिकै स्थानीय प्रहरी तत्कालै खटिएको र जिल्लाबाट टोली गएर सचेत गराउने काम भएको थियो। 

स्थानीयवासीका अनुसार केही चिज घोप्टिए झैं गरी एकै चोटी हिमपहिरो खसेको थियो। पहिराेले बस्ती नभेटे पनि त्यसका हावा र हिउँका ढिक्काले बस्तीमा क्षति पुर्याएको छ। त्यही कारण कतिका घर र छाना उडाएको छ। खोँचमा अहिले माटोसहित हिउँको पहाड बनेर बसेको छ। 

हिमपहिरो बिहान ११ः४० मिनेटमा खसेको थियो तर अझै खस्ने क्रम भने नरोकिएको र माथि केही हिउँका ढिक्का फेरि पनि झर्ने होकी भन्ने आशंका कायमै छ। त्यहाँका वडाध्यक्ष नरप्रसाद हिराचनका अनुसार कतिपयको घरसहित खेतीबाली, चौँरी, घरमा सुकाएको विस्कुनसमेत क्षति पुर्याएको छ। तल्लो बस्तीमा रहेको जनआदर्श अमरसिंह विद्यालयसम्मै प्रभाव परेको थियो। शिक्षक विद्यार्थी भाग्ने क्रममा केही घाइते भएका छन्। हिउँपहिराले पहाडका रुख नै सोहोरेको दृष्य भिडियोमा देख्न सकिन्छ। कालो बादल मडारिएर आएको जस्तो गरी हिउँपहिरो खसेको छ। 

प्रजिअ शर्माले भने, “उक्त हिमपहिरो धौलागिरि हिमश्रृंखलाबाट खसको हो, नजिक खर्क छ, च्याङग्रा तल झारिसकेको छ तर चौरीहरू माथि रहेकाले पहिरोमा परेको भन्ने आएको छ।” उनले थप्दै भने, “एक खालको उल्का जस्तो गरेर आयो, यतै आउँछ की भनेर मानिस भागे, झण्डै साँढे दुई किलोमिटर क्षेत्रमा हिउँका ढिक्का पुगेको छ, घरको छानासमेत उडाएको छ।”  जलवायु परिवर्तन विज्ञ डा ङमिन्द्र दाहाल यो जलवायु परिवर्तनको असर भएको र असामान्य घटना घटेको सुनाउँछन्। 

Skip This
Skip This
Logo