नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय कार्यसमितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बुढानिलकण्ठ नदेखेको झैँ गरेर सभापति देउवाले आफ्नै निवासमा आइतबार (हिजो) केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाएका छन् ।
नेता सिंहले सभापति देउवाको गृह जिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरू मान्य नहुने चेतावनी समेत दिएका छन् । उनले सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा गरिएको अधिवेशन मान्न नसकिने अडान राखेका छन् । नेता सिंहले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पुरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रीय कार्य समिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दबाब दिएका छन् । उनले भने, ‘पार्टी केन्द्रीय कार्य समितिको बैठक पार्टी सभापतिको घरमा राख्छ । हिजो मैले बोले । कार्यालयमा राख्नु पर्यो नि वर्किङ कमिटी भनेर । भवनको के काम । बुढानिलकण्ठ हामीले नदेखेको हो र भन्या । उहाँको त्यहाँ घर बन्नुभन्दा अघि नै हामी त्यहाँ बुढानिलकण्ठ भगवानको पूजा गर्न जान्थेऊ नि त । अनि एक दिन नाघि सक्यो–रौतहटका साथीहरू धर्ना बसेको बस्यै । के दसैं, के तिहार, के छठ । पार्टी कार्यालयमा छिँडीमा बसेको बस्यै छ । मैले भने कि किन यस्तो गर्छौँ केन्द्रीय कार्य समितिले त सर्वसम्मत निर्णय गरेको हो । जुन जिल्ला, जुन क्षेत्रको जुन वडाको जहाँ प्रोबलम छ । विधि र नियम अनुसार सम्बोधन गर्न प्रयास गरौंं । एक्टिभ मेम्बरसिपमा विवाद भयो भने । होइन भने समय बित्न लाग्यो भने स्थगनमा राखौँ । र पुराणैबाट गरौँ भनेर त सर्वसम्मतिले पारित गरेको छ नि । यहाँ त अरू पार्टीबाट प्रवेश गरेको नाममा, समायोजनको नाममा निर्वाचन अधिकृत खटी सकेको छ । भोटलिष्टमा समायोजनको लिष्ट एउटा छ, समायोजनको लिष्टमा नभएका नामहरू राखेर पर्सादेखि विशेष गएर प्रदेश २ मा त्यस्तो भइराखेको छ । अरे बाबा के गर्ने, हाम्रै पार्टी सभापतिको गृह जिल्लामा के गर्नु भयो ? के राम्रो भएको छ ? अहिले उहाँले सुनिराख्नु भएको छ नि त । त्यहाँको जिल्ला सभापतिले के भयो भन्ने कुरा । यो संगठन पकड गरेर विधि र नियम पूरा नगरीकन पुलिसको घेरामा म सत्तामा छु भन्दैमा पुलिसको घेरामा राखेर नभएको अधिवेशन भो भनेर घोषणा गर्दैमा हुन्छ ? यसले पार्टीलाई राम्रो गर्दैन ।’
नेता सिंहले राजनीतिक न्याय दिन पनि पार्टी नेतृत्वसँग माग गरेका छन् । उनले विधि र नियम उलंघन गरेर पार्टी नेतृत्वले सधैँ कार्यकर्तालाई अन्याय गरेकाले आफूहरूले राजनीतिक न्यायको खोजी गर्नु परेको तर्क समेत गरे । उनले पार्टी नेतृत्वले अव महाधिवेशन सार्ने अवस्था भने नरहेको बताएका छन् ।































प्रतिक्रिया