चाडपर्वमा समेत बढेन रेमिट्यान्स, ७.६ प्रतिशतले कमी

चाडपर्वमा समेत बढेन रेमिट्यान्स, ७.६ प्रतिशतले कमी

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आयात ७.६ प्रतिशतले कमी आएको छ। श्रम गन्तव्य मुलुकमा कोरोनाको कहर सामान्य बन्दै गए पनि विप्रेषण आप्रवाह भने ओरालो लागेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको तीन महिनासम्ममा रु दुई खर्ब ३९ अर्ब ३२ करोड बराबर मात्रै विप्रेषण आएको छ। दसैं, तिहारजस्ता चाडपर्वमा सामान्यतया विप्रेषण आप्रवाह बढ्ने गरेको पाइए पनि यसपटक भने घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो। सो अवधिमा रु दुई खर्ब ५८ अर्ब ८६ करोड बराबरको विप्रेषण भित्रिएको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई रु दुई अर्ब दुई करोड कायम भएको छ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो। सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई ६६ हजार ३१६ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९६.८ प्रतिशतले घटेको थियो। 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा उल्लेख्यरूपमा वृद्धि भई ३४ हजार ८२३ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७८.६ प्रतिशतले घटेको थियो। सो अवधिमा खुद ट्रान्सफर ८.१ प्रतिशतले कमी आई रु दुई खर्ब ६३ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १०.२ प्रतिशतले बढेको थियो। 

Logo