मंसिर ३ गतेबाट हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सुरुआती दुई चरणका सबै खेल दशरथ रंगशालामा हुने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि जारी गरेको तालिकालाई हेरफेर गर्दै नयाँ खेल तालिका सार्वजनिक गरेको छ। जस अन्तर्गत सुरुआती दुई चरणका सबै खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने जनाएको छ। यसअघि एन्फाले आयोजना गरेको टाई सिट ड्रड सार्वजनिक कार्यक्रमबाट खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जनाएको थियो।
शुक्रबारबाट सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाइनेछ। उक्त खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ। दोस्रो दिनबाट हरेक दिन दुई खेलहरु हुनेछन्। पहिलो खेल १ बजे हुनेछ भने दोस्रो खेल ४ः४५ बजे हुनेछ।
कुल १४ टोलीले सहभागिता जनाएको प्रतियोगितामा ९१ खेल हुनेछन्। लिगको पुछारका दुई टिम रेलिगेसनमा रहँदै बी डिभिजनमा घटुवा हुनेछन्।





























प्रतिक्रिया