वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका छन् ।
बुधवार नेपाल बार एसोसिएसनले गरेको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका हुन् । उनले नयाँ प्रधानन्यायाधीश नियुक्ति गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तिको लागि आन्दोलन गरेको बताए । उनले भने – ‘आज प्रधानन्यायाधीशको सिट खालि छ । प्रधानन्यायाधीशको सिट खालि भइसकेको छ । कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने, यो सरकार र संविधान चलाउने, सरकार र प्रमुख प्रतिपक्षी दलको जिम्मा हो । तपाई र मैले खालि गरिसक्यौ , कसरी खालि ग¥यौँ, खालि भइसक्यो । खालि अर्को मनोनयन गरेका छैनन् । तपाई र मैले अर्को मनोनयनका लागि कराइराख्नु परेको छ । राम्रो प्रधानन्यायाधीश मनोनयन गर भनेर हामीले भनिराख्नु परेको छ ।’
वरिष्ठ अधिवक्ता थापाले कानुन व्यवसायीहरूको उपस्थिति बिना न्यायालय चल्न नसक्ने बताएका छन् । केही न्यायाधीशहरू इजलास बस्न लागेको तर्फ इंकित गर्दै उहाँले न्यायाधीशहरुले मात्रै अदालत चलाउन नसक्ने बताए । प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले आन्दोलन गरिरहेको बखत इजलासमा बस्ने न्यायाधीश दूषित भएको टिप्पणी उनले गरेका छन् । उनले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको हो कि होइन सोध्नका लागि न्यायाधीशहरुलाई आग्रह समेत गरे । उनले भने – ‘नेपाल बारले प्रधानन्यायाधीश भ्रष्टाचारमा डुबेका छन्, डुबेको मात्रै होइन बान्ता भयो । त्यो बान्ता भएको कुरा यहाँ बोलिराख्या छौँ हामीले । यो लुकेको कुरा भएन । यो कुरा हामीले अगाडी राखी रहँदाखेरी तपाईहरु चार जना वा पाँचजना हुनुहुन्छ एउटै प्रश्न सोधिदिनुस्, प्रधानन्यायाधीशज्यू तपाईँले घुस खानु भएको छ कि छैन ? यत्ति सोधिदिनुस् । आज फुलकोर्ट बस्ने कुरा छ, तपाईँलाई त भ्रष्टाचार गर्नुभयो, घुस खानु भो भन्या छ सोधिदिनुस् न एकचोटी । उहाँले खानु भो भन्नुहुन्छ कि खानुभएन भन्नुहुन्छ । खानुभएन भन्नुभए बोलाउनुस् । पहिलो जो इजलासमा बस्छु भन्नुहुन्छ उहाँले तोकेर यदि घुस खाएको प्रधानन्यायाधीशको इजलासमा बस्नुहुन्छ भने तपाई दूषित हो । फेरी सेटिङको कुरा आउँछ, हतार नगर्नुहोला ।’
उनले आफूहरू भ्रष्टाचारीको पछि लागेर बहस नगर्ने स्पष्ट पारे । वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसद्मा कागज दर्ता गर्नुपर्ने बताए । उनले भने – ‘संसद्मा एउटा कागज दर्ता गर्नुपर्छ । त्यो ऐतिहासिक हुन्छ । भ्रष्टाचार गरेका कुरासहित दर्ता गर्नुपर्छ । भ्रष्टाचार गरेको कागजसहित दर्ता गर्नुपर्छ । संसद्मा पुरा पाइन्टसहित बुलेटमा, यिनका घरजग्गासहित ।’
उनले आफूहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै गर्दा अन्य न्यायाधीशको पनि राजीनामा माग्ने र कानुन व्यवसायीहरूलाई समेत आरोप लगाइएको भन्दै अर्को प्रधानन्यायाधीश नियुक्त भएसँगै कानुन व्यवसायीहरूले भ्रष्टाचार गरे नगरेको सम्बन्धमा छानबिन गर्न चुनौती दिए । उनले सिरकभित्र टाउको नलुकाई बारको आन्दोलनमा ऐक्यबद्धता जनाउन पनि सम्पूर्ण कानुन व्यवसायीहरूलाई आग्रह गरेका छन् । उनले भने– ‘हामीले भनेका छौँ त अर्को प्रधानन्यायाधीश आउने, अर्को प्रधानन्यायाधीशले को – को वकिल भ्रष्टाचार गर्नेछ, को को न्यायाधीश भ्रष्टाचार गर्नेछ, को को अयोग्य छ खोज । त्यो भित्र अध्यक्ष पर्छ कि पूर्व अध्यक्ष पर्छ कि, वर्तमान अध्यक्ष पर्छ कि त्यसकारण त्यो सुतुरमुर्गजस्तो केही कानुन व्यवसायीहरू यस्तो आन्दोलन चलेको बेलामा म सुरक्षित छु भनेर टाउको सिरकभित्र लुकाएर नबस्नुस् । लज्जावति झार जस्तो नबस्नु । आन्दोलन चलाउँदै गर्दा कहिलेकाहीँ गलगाँडहरु सडकमा आउँछन् एक हजार लिएर । घरी लेख्छन् । तिनीहरूलाई आफ्नो प्रकारको मुद्दाको चिन्ता छ । हामीलाई चिन्ता छैन । गलगाँडहरुलाई मेरो उत्तर छ, मूल गाँडको अप्रेसन यसपालि गर्नै पर्छ । त्यो गरिसकेपछि अनि भन्छ त्यसले यहाँ–यहाँ छ है ।’
वरिष्ठ अधिवक्ता थापाले नेपाल बार एसोसिएसनलाई नसोधीकन प्रधानन्यायाधीशले नियुक्त गर्ने कुनै पनि नियुक्ति नगर्न न्याय परिषद्का सदस्यहरूलाई खबरदारी समेत गरेका छन् । यदि बारको सहमतिबिना नियुक्ति गरेमा न्याय परिषद्बाट फिर्ता बोलाउने अधिकार पनि बार सँग रहेको बताए । उनले भने – ‘खबरदार बारलाई नसोधीकन एउटा नियुक्ति गर्नुहोला र सही गर्नुहोला । तपाईँलाई जसरी भोट मागेर पठाइएको छ त्यसरी नै बोलाउने अधिकार छ । तपाईँले नेपाल बार सँग छलफल नगरीकन, हिजो विज्ञप्ति निकालेको छ कुनै नियुक्ति नहोस् भनेर, सिनियर न्यायाधीश दीपककुमार कार्कीलाई पनि हाम्रो अनुरोध छ ।’
नेपाल बार एसोसिएसनले आज (बुधवार) पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । बारले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने वैकल्पिक गेटबाट सर्वोच्च अदालत परिसर प्रवेश गरेका थिए । प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको बारले प्रधानन्यायाधीशको राजीनामा नआउन्जेलसम्म आन्दोलनलाई अझ सशक्त र देशभर फैलाएर लैजाने बताएको छ ।































प्रतिक्रिया