जहाँ दुई सय रुपैयाँमा मान्छेको ढुवानी गरिन्छ !

जहाँ दुई सय रुपैयाँमा मान्छेको ढुवानी गरिन्छ !

केन्द्रबिन्दु
0
Shares

दुई सय रुपैयाँमा मन्छेको ढुवानी सुन्दा अनौठो लाग्न सक्छ। तर ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भने दुई सय रुपैयाँमा भरियामार्फत पहिलेदेखि नै ढुवानी हुँदै आएको छ। 

यातायातअन्तर्गत सवारीसाधन (गाडी) र हवाईमार्गमा हेलिकाेप्टर सुविधा उपभोग गरिसकेपछि पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई भरियामार्फत ढुवानी हुँदै आएको छ।

पाथीभरा धाम ३,७९४ मिटरको उचाइमा छ। साे उचाइमा पदयात्रा गर्न पहाड तथा हिमाली ग्रामीण क्षेत्रका अधिकांश नागरिकलाई तुलनात्मकरूपमा सहज भए पनि सहर र तराई क्षेत्रका नागरिकलाई केही कष्ट हुने गर्दछ। यही अवस्थालाई दृष्टिगत गरी पाथीभरा क्षेत्रमा रहेको पदमार्गमा भरिया सुविधाको व्यवस्था गरिएको हो।

पाथीभरा क्षेत्रको पदमार्ग यात्रा गर्नेका लागि भने निक्कै सजिलो छ। करिब दुई मिटर चौडा र पैदल यात्रा सहज हुनेगरी वारपार ढुंगा बिछ्याइएको छ। पाथीभरा क्षेत्रको तल्लो फेदी (काफ्लेपाटी) देखि सुरु हुने पदमार्गको दूरी पाँच किलोमिटर छ। करिब अढाई घन्टा यात्रा गरेर उक्त दूरीको पदमार्ग पूरा गरी पाथीभरा धाममा पुगिन्छ। यद्यपि, उकालो र ओरालो हिँड्नु पर्ने हुँदा जेष्ठ, बालबालिका तथा हिँड्न नसक्ने नागरिकलाई पदयात्रा गर्न गाह्रो हुने गर्दछ।

पदयात्रा गर्न नसक्नेका लागि पाथीभरा क्षेत्र होटल व्यवसायी महासंघको समन्वयमा भरिया सुविधाको व्यवस्था मिलाइएको छ। हाल पदयात्रा गर्न नसक्ने पर्यटक वा तीर्थयात्रीले प्रतिकिलोग्राम एकसय रुपैयाँ तिरेर भरिया सुविधा उपभोग गर्न पाउँदै आएका छन्। उक्त ढुवानी रकम तल्लो फेदीदेखि पाथीभरा धामसम्मका लागि भरिया आफैँले निर्धारण गरेका हुन्। धामदेखि पुनः फेदीसम्म भरियालाई बोकाएर फर्कनुपरे प्रतिकेजी एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ।

भरियाले मान्छे ढुवानी सुविधा दिनुपर्दा तौल भने नगरी अनुमान गरेर बोक्ने गरेको बताउँछन्। भरिया काम गर्दै आएका पासाङ शेर्पाले अनुमानमा दुई-चार केजी तौल फरक परे पनि तीर्थयात्रीले आफ्नो तौल बताउने र सोहीअनुसार ढुवानी रकम लिने गरेको बताए। भरिया सुविधा १५-२० देखि ११५ केजीसम्म तौल भएका तीर्थयात्रीलाई दिने गरेको उनकाे भनाइ छ। धेरै तौल हुने तीर्थयात्रीलाई तीन-चार जनाको समूह मिलेर बोक्ने गरेको भरियाहरू बताउँछन्।

उकालो र धेरै उचाइ क्षेत्रमा भारी बोक्न गाह्रो हुने भए पनि तीर्थयात्रीको सुविधा र भरिया सुविधा दिएबापत पाइने पारिश्रमिकलाई हेरेर भरिया कर्ममा खट्दै आएको उनीहरूको भनाइ छ। हिजोआज सिजनका बेला दिनमा न्यूनतम तीन हजार रुपैयाँ रोज बस्ने पनि उनीहरू बताउँछन्।

भरियाको कार्य गर्नलाई तीन सय बढीले सम्पर्क गरे पनि अहिले दसैँ तिहारको मौसममा करिब एक सय जना नियमित खट्दै आएका पाथीभरा क्षेत्र होटल व्यवसायी महासंघले जनाएको छ। भरियाको काम गर्नेमा केही महिलासमेत छन्। तीर्थयात्री र उनीहरूको बन्दोबस्तीका सामग्रीसमेत भरियाले बोक्ने गरेका छन्।

अहिलेको पाथीभरा दर्शनको मुख्म मौसममा दर्शनार्थीको बाक्लो उपस्थिति हुने गर्दछ। भरिया सुविधाको व्यवस्था भएका कारण पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई राहत मिलेको छ भने भरियाका लागि पनि राम्रो आम्दानीको स्रोत बनेको बताइएको छ।

यसरी पाथीभरा दर्शनमा जाने पर्यटक तथा तीर्थयात्रीलाई सदरमुकाम फुङ्लिङ हुँदै तल्लो फेदीसम्म यातायातको सुविधा छ। त्यस्तै हवाई मार्गमार्फत आउन चाहानेले काठमाडौं, झापाको चन्द्रगढी र धनकुटाको भेरेटारबाट हेलिकप्टर सुविधा पनि सेवा प्रदायक कम्पनीहरुले दिँदै आएका छन्।

Skip This
Skip This
Logo