उत्पादन गुणस्तर नभएका तीन वटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीमा रोक

उत्पादन गुणस्तर नभएका तीन वटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीमा रोक

केन्द्रबिन्दु
0
Shares

नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तीनवटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको छ। विभागले बजार अनुगमनका क्रममा उत्पादन गुणस्तर नभएको भन्दै मारूती, युनाइटेड र जगदम्बा सिमेन्टको ओपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको हो।

विभागले मारूती र युनाइटेड सिमेन्टको ओपीसी सिमेन्ट र जगदम्बाको पीपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको जानकारी दिएको छ। विभागले प्रेस विज्ञप्ति जारी गर्दै सिरहास्थित मारूती सिमेन्टको ओपीसी ४३ ग्रेडको (नेपाल गुणस्तर ५७२)को संकलित नमूनाको बलियोपना तोकिएको गुणस्तरअनुसार नभएको भन्दै विक्रीमा रोक लगाएको हो। ओपीसी ४३ ग्रेडको उत्पादित सिमेन्टको बलियोपन ७ र २८ दिनको मान न्यूनतम ३३ र ४३ हुनुपर्नेमा मारूती सिमेन्टको यस्तो मान ३१ र ३७ रहेको भेटिएको छ।

विभागले गरेको बजार अनुगमनका क्रममा सिमेन्टको गुणस्तरअनुसार उत्पादन नभएको भन्दै उक्त उद्योगको ४३ ग्रेडको ओपीसी सिमेन्ट विक्रीमा रोक लगाएको छ। विभागले बजारमा गएको उक्त उत्पादन फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

यसैगरी धादिङस्थित युनाइटेडको ५३ ग्रेडको ओपीसी सिमेन्टमा पनि हुनुपर्ने मान नभएको भेटिएको छ। सिमेन्टको संकलित नमूनाको बलियोपन ७ र २८ दिनको मान क्रमशः ३५ र ३९ भेटिएको छ। यसको मान भने न्यूनतम ३७ र ५३ हुनुपर्छ।

विभागले सो उद्योगलाई पनि १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ, भने बजारमा गएका ती उत्पादन फिर्ता लिन पनि भनेको छ।

यसैगरी रूपन्देहीको जगदम्बा सिमेन्टको पीपीसी सिमेन्टको संकलित नमूनामा पनि गुणस्तर तोकिएअनुसार नभएको विभागले उल्लेख गरेको छ। नेपाल गुणस्तर ३८५ अनुसार पीपीसी सिमेन्टको मान क्रमशः १६ र २२ हुनुपर्नेमा उक्त उद्योगबाट उत्पादन भएको सिमेन्टको यस्तो बलियोपनको मान भने क्रमशः १५ र २० रहेको छ।

विभागले जगदम्बालाई पनि १५ दिनभित्र स्पष्टीकरण दिन भन्दै पत्र काटेको छ भने पीपीसी सिमेन्ट विक्रीमा रोक लगाएको छ।अभियान दैनिकबाट

Skip This
Skip This
Logo