नेपाल भ्रमणमा रहेका आयुर्वेद शिरोमणी आचार्य बालकृष्णले ओशो तपोवनको भ्रमण गरेका छन्।आइतबार बिहान उनी नागार्जुन स्थित ओशो तपोवन पुगेका थिए। तपोवनमा आचार्य बालकृष्ण लगायतको टिमलाई वोधिसत्व स्वामी आनन्द अरुणले विशेष स्वागत गरे।
तपोवनभित्र रहेको पुस्तकालय, ओशो समाधी, शिवपुरीबाबाको मन्दिर, मृत्युपार्क तथा कविर मन्दिरको अभिरुचीपूर्वक दर्शन गरेका आचार्यले अध्यात्मिक जागरणको लागि ओशो तपोवनले गरिरहेको कामको प्रशंसा गरेका थिए।
आफ्ना अति हितौसी मित्र स्वामी आनन्द अरुणको आमन्त्रणलाई हार्न नसकेर तपोवन आएको बताएका स्वामी बालकृष्णले आफूहरु तपोवनको प्रशंसक रहेको भन्दै योग र अध्यात्मको बिषयमा पतञ्जली तथा ओशो तपोवनबिच सहकार्य गर्ने बताए। योग र ध्यानको महत्व विश्वले बुझ्दै गएकाले तपोवन जस्ता आध्यात्मिक गन्तब्यहरुको महत्व दिनदिनै बढिरहेको उनको भनाइ थियो। आचार्य बालकृष्णलाई तपोवनमा स्वागत गर्न एनआरएनका दुई पूर्व अध्यक्षहरु उपेन्द्र महतो तथा भवन भट्ट पनि तपोवन पुगेका थिए।
यसैबीच आइतबार बिहानै वोधिसत्व स्वामी आनन्द अरुणलाई फोन गर्दै स्वामी बाबा रामदेवले आफ्नो तिब्र इच्छा हुँदाहुँदै पनि अति ब्यस्तताका कारण तपोवन आउन नसकेको बताउँदै अध्यात्मको क्षेत्रमा ओशो तपोवनले खेलिरहेको भूमिका अत्यन्तै ठूलो रहेको भन्दै तपोवन र स्वामी आनन्द अरुणको प्रशंसा गरेका थिए।
स्वामी रामदेव तथा आचार्य बालकृष्णसहित पतञ्जलीको टिम केही महत्वपूर्ण कामका लागि नेपाल आएको हो। उनीहरु आइतबारनै भारत फर्किने कार्यक्रम रहेको छ।































प्रतिक्रिया