डिफेन्डर दिनेश राजवंशीको निर्णायक गोलमा कीर्तिमानी आठौं पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक "ए" डिभिजन लिगमा विजयी सुरुआत गरेको छ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा ललितपुरको जावलाखेल यूथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो।
मनाङको लागि एक मात्रै गोल दिनेशले खेलको ५७ औं मिनेटमा गरे। राष्ट्रिय फुटबल टोलीका रक्षकसमेत रहेका दिनेशले भारतीय खेलाडी दयानन्द सिंहको कर्नलबलमा बक्स भित्रबाट हेडिङ गोल गरे।
पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबर खेलेका थिए। आक्रामक देखिएको मनाङलाई जावलाखेलले दोस्रो हाफमा रोक्ने प्रयास गरे पनि सफल हुन सकेन।
बाँकी समय दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। ४५ मिनेटमा जावलाखेलका सुरज जिउ ठकुरीको कर्नलमा फरवार्ड ओनगुना एनकेन्गुई जुनियर हेडिङ क्रसबारमा लागेर फर्कियो।
खेलको ३० मिनेटमा एडेलाजा सोमिडेले पाएको मौका सदुपयोग गर्न सकेनन्। जुन बल आफिज ओलावालेले प्रहार गर्दा अफसाइड हुन पुग्यो। ८९ मिनेटमा अञ्जनको पासमा ओलावालेले बक्सबाट बाहिर प्रहार गरे।
जीतसँगै मनाङले महत्त्वपूर्ण तीन अंक बटुलेको छ। यता, जावलाखेल भने हारबाट प्रतियोगिता सुरु गरेको छ।
आजै भएको पहिलो खेलमा एपीएफ फुटबल क्लबलाई ३-२ गोलले पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले महत्त्वपूर्ण ३ अंक जोडेको छ।
ब्रिगेडका लागि दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे। एपीएफका लागि आशिष लामा र बिक्की तामाङले समान एक गोल फर्काए।
सोमबार दुई खेल हुनेछ। पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एन आर टिले चुनौती पेस गर्नेछ।































प्रतिक्रिया