संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन नभएको सांसदको दाबी

संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन नभएको सांसदको दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धीत निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुले बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले त्यस्तो बताएका हुन् । यस अघि दिएका विभिन्न निर्देशनहरुको कार्यान्वयनको अवस्थाको विषयमा छलफल गर्न राखेको बैठकमा उपस्थित सांसदहरुले समितिले यस अघि विभिन्न निकायलाई दिएको निर्देशनहरुको कार्यान्वयन नभएको दाबी गरेका छन् ।

समितिले आफ्नो कार्यक्षेत्र अन्र्तगत रहेका मन्त्रालय, विभाग तथा त्यस अन्र्तगतका निकायहरुलाई विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयनको विषयमा गम्भीर समीक्षा हुनुपर्नेमा सांसदहरुले जोड दिए । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समितिले विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयन फितलो भएको बताइन् । समितिको बैठकमा उपस्थित भएर मन्त्रीहरुले नै गलत रिपोर्टिङ दिने गरेकाले निर्देशनहरुको कार्यान्वयन जिम्मेवारीपूर्वक हुन नसकेको उनको भनाइ छ । साथै मन्त्रीले दिने रिपोर्टमा नै सत्यता नहुँदा कुनै पनि आयोजनाको निर्माण समयमा सम्पन्न हुन नसकेको उनको दाबी छ । कुनै पनि विषयमा समितिले छलफल गर्नु अघि त्यस क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गर्नुपर्नेमा उनको जोड छ ।

नेपाली कांग्रेसकी सांसद रगंमती शाहीले पछिल्लो समय कोभिडको बाहना बनाएर काम नगर्ने प्रवृति बढेको बताइन् । हुम्ला जिल्लामा कोभिडको असर नपरे पनि कर्णाली कोरिडोरको काम रोकिनु त्यसैको उदाहरण भएको भन्दै समितिले त्यस्ता विषयलाई पहिलो प्राथमिकतामा राखेर गम्भीर रुपमा निर्देशन दिनुपर्नेमा जोड दिइन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद केदार सिग्देलले कुनै पनि आयोजना गुणस्तरीय भए नभएको सम्बन्धमा समितिले दिएको निर्देशनहरु अहिलेसम्म पनि कार्यान्वयन नभएको देखिएको बताए । साथै आयोजनाको वर्गीकरण प्रष्ट नभएकाले संघ, प्रदेश र स्थानीय तहको प्रावधान स्पष्ट पार्न यस अघि दिएको निर्देशन अहिलेसम्म पनि कार्यान्वयन नभएको उनको भनाइ छ । साथै नेकपाकै सांसद यज्ञराज सुनुवारले अयोग्यहरुका लागि कोभिड–१९ बाहना बनेको आरोप लगाए । कुनै पनि निर्माण कार्य समयमा गर्न अयोग्य कम्पनी तथा निकायले कोभिडलाई बाहना बनाएर काम नगरेको उनले भनाइ छ । सबै क्षेत्रमा यस्तो प्रवृति देखिएकाले छुट्टै छलफल गरी निर्देशन दिनुपर्ने बताए । त्यस्तै चालु आर्थिक वर्षको चौमासिक सकिनै लाग्दा बजेट कार्यान्वयन के कति भएको छ भन्ने सम्बन्धमा समेत छलफल तथा समीक्षा गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

त्यस्तैगरी नेकपाकी सांसद ईन्दुकुमारी शर्माले सबैभन्दा बढी समस्या भौतिक पूर्वाधार क्षेत्रमा रहेको बताइन् । यसअघि समितिले दिएका निर्देशनहरु सबैभन्दा बढी भौतिक पूर्वाधार अन्तर्गत नै कार्यान्वयन नभएको उनको भनाइ छ ।

बैठकमा सांसदहरुले कोभिडलाई कारण देखाउँदै काम नगर्ने प्रवृतिको अन्त्यका लागि समितिले उपसमिति गठन गरी अनुगमन गर्नुपर्ने बताएका छन् । सबै आयोजनाको अनुगमन गरी प्रतिवेदन तयार भएपछि मात्रै समितिको नियमित बैठक बसेर छलफल गरी आवश्यक निर्देशन दिनुपर्ने आवश्यकता देखिएको सांसदहरुले बताएका छन् ।

Skip This
Skip This
Logo