खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई एमाले अध्यक्ष केपी ओली निकट हुन्। अध्यक्ष ओलीको विश्वासपात्र भएकै कारण भट्टराईले एमालेका प्रमुख सचेतकको भूमिकामा छन्।
चितवनमा जारी एमालेको १०औँ राष्ट्रिय अधिवेशनमा अध्यक्ष ओलीले आइतबार राति सार्वजनिक गरेको ३०१ जना केन्द्रीय सदस्यको सूचीमा भने भट्टराईको नाम अटाएन। प्रमुख सचेतककै नाम केन्द्रीय सदस्यको सूचीमा नसमेटिँदा अनेक अडकलबाजी भइरहेका छन्। सामाजिक सञ्जालमासमेत अनेकथरी टिकाटिप्पणी भइरहेका छन्।
तर, भट्टराईले नेतृत्वसँगको सल्लाहमा अर्को महत्वपूर्ण जिम्मेवारी पाउनेगरी केन्द्रीय कमिटिमा नाम नराखिएको प्रष्ट्याएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत भट्टराईले थप सशक्त भूमिकासहित पार्टी संगठन निर्माण र परिचालनको काममा लाग्ने जानकारी दिएका छन्।
स्राेतका अनुसार अध्यक्ष ओलीले भट्टराईलाई प्रदेश नम्बर १ को अध्यक्ष दिने आश्वासन दिएका छन्। 'खासमा पार्टी अध्यक्ष, महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी दिने भन्नुभएको छ। म यसै पनि संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु, अब थप सशक्त भूमिकासहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु,' भट्टराईले लेखेका छन्, 'यहि कारणले मात्र मेरो भूमिका खुम्चिदैन, म कमजोर बन्दिन। नेपाली राजनीतिमा मेरो सानो–ठूलो भूमिका अनवरत रहिरहनेछ। कोही खुसी नहुन, कोही चिन्तित नहुन बिनम्रतापूर्वक आग्रह गर्दछु।'































प्रतिक्रिया