भारतसहित ६० देशमाथि अमेरिकाको नयाँ ट्यारिफ

भारतसहित ६० देशमाथि अमेरिकाको नयाँ ट्यारिफ

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । अमेरिकाले भारतसहित आफ्ना करिब ६० व्यापारिक साझेदार देशबाट आयात हुने वस्तुमाथि नयाँ ट्यारिफ लगाउने निर्णय गरेको छ ।अमेरिकी प्रशासनका अनुसार, ती देशहरूले बाध्यकारी श्रम रोक्न पर्याप्त कदम नचालेकाले नयाँ शुल्क लागु गर्न लागिएको हो ।

अमेरिकाले १० देखि १२.५ प्रतिशतसम्मको नयाँ ट्यारिफ भारत, बेलायत, चीन, युरोपेली संघ, क्यानडा, जापानलगायत प्रमुख व्यापारिक साझेदार देशहरूका सामानमा लागु गर्ने जनाएको छ ।

यी नयाँ शुल्क शुक्रबारदेखि लागु हुनेछन् । यसअघि यस वर्ष विदेशी सामानमा अस्थायी रूपमा लागु गरिएको १० प्रतिशत ट्यारिफ भने अब समाप्त हुनेछ । डोनाल्ड ट्रम्प गत वर्ष पुनः राष्ट्रपति निर्वाचित भएपछि सुरु भएको व्यापार युद्धको यो पछिल्लो ठूलो कदम मानिएको छ ।

यसै वर्ष अमेरिकी सर्वोच्च अदालतले संकटकालीन अधिकार प्रयोग गरेर विश्वका विभिन्न देशमाथि लगाइएका धेरै ट्यारिफ कानुनी रूपमा वैध नरहेको फैसला सुनाएको थियो । त्यसपछि राष्ट्रपति ट्रम्पले आफ्ना प्रमुख व्यापारिक नीतिहरू कार्यान्वयन गर्न अन्य कानुनी आधारहरू प्रयोग गर्न थालेका थिए ।

गत महिना ह्वाइट हाउसले बाध्यकारी श्रम रोक्न पर्याप्त प्रयास नगरेको आरोप लागेका देशहरूलाई ट्यारिफ लगाउने प्रस्ताव सार्वजनिक गरेको थियो । ती देशहरूबाट अमेरिका आयात हुने वस्तुमा १० देखि १२.५ प्रतिशतसम्म अतिरिक्त ट्यारिफ लगाउने प्रस्ताव सार्वजनिक गरेको थियो ।

Logo