एमाले महाधिवेशनः ओलीनिकट यी नेता, जसलाई ओली आफैंले साथ छाडे

एमाले महाधिवेशनः ओलीनिकट यी नेता, जसलाई ओली आफैंले साथ छाडे

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा जारी छ। नयाँ नेतृत्वका लागि गरिएको सर्वसम्मत प्रयास असफल भएपछि भएको मतदान प्रक्रिया सम्पन्न भएर अहिले मतपरिणाम पनि सार्वजनिक भइसकेके छ। जसमा केपी शर्मा ओली निर्वाचित भएका छन्।

नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका ओली नै दशौं महाधिवेशनमा पनि अध्यक्ष भएका हुन् । दोस्रोपटक अध्यक्ष बनेका ओलीले यसपटक सर्वसम्मत नेतृत्व चयन गर्न हरसम्भव प्रयास नगरेका होइनन् । तर प्रयास असफल भएपछि अन्ततः निर्वाचनमै जानुपर्‍यो । यद्यपी केही बरिष्ठ उपाध्यक्ष, महासचिव जस्ता महत्वपूर्ण पद र धेरै संख्यामा केन्द्रीय सदस्यमा भने ओलीले सर्वसम्मत बनाउन सफल रहे । 

नेकपा फूटेर पुरानै अवस्थामा फर्किनुपरेको तथा वर्षौंदेखिका सहयात्री माधवकुमार नेपाल, झलनाथ खनालले पार्टी फुटाएर अर्को पार्टी गठन गरेको एवं ओलीको अधिकांश पाइलामा साथ दिएका बामदेव गौतमसमेत पार्टी बाहिर रहेको अवस्थामा आयोजना गरिएको दशौं महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ। अहंकारी र आडम्बारी नेताको बिल्ला भिरेका ओलीले चारैतिर असहयोगका बाबजुद दोस्रोपटक अध्यक्ष बनेका छन् । 

निर्वाचन नजिकिँदै छ। वर्षौंदेखिका सहयात्रीहरु छुट्टिएका छन्। विगतमा पार्टी एकता गरी नेकपा गठन गर्दाका सहयात्री पुष्पकमल दाहाल लगायत सबै नेताहरुसँग पानी बाराबारको स्थिती छ । यस्तो अवस्थामा आयोजना गरिएको महाधिवेशनलाई ओलीले सर्वसम्मत गराउन पहल कदमी गरेका थिए । सोहीक्रममा उनले केन्द्रीय कमिटिको लिष्ट बन्दसत्र हलमा प्रस्तुत गरेका थिए । जसमा उनले केही पदहरुमा सर्वसम्मत गराउन सफल पनि भए । यो लिष्ट तयार गर्दा ओलीले केही जुनियरलाई केन्द्रीय समितिमा ल्याउन आफ्ना केही अति निकटका सारथीहरुको हात छाडेका छन्। 

ओलीनिकट विन्दा पाण्डे यसपाली उपमहासचिव पदमा उठ्ने चर्चा थियो । उनी त्यो क्षमता राख्‍ने व्यक्ति पनि हुन्। तर ओलीले जारी गरेको सर्वसम्मतिको लिष्टमा पाण्डे परिनन्। बौद्धिक नेता विशेषगरी जेण्डर विषयमा दख्खल राख्‍ने पाण्डेले एमालेको यो महाधिवेशनमा निर्वाचित हुन १९ सदस्यीय पदाधिकारीमा एक तिहाई महिला आउनुपर्छ भनेर लबिङसमेत गरेकी थिइन् । तर उनलाई ओलीले लिष्टमै पारेनन् । 

ओलीले जारी गरेको लिष्टमा नपरेका केहीले उम्मेदवारी दिए तर पाण्डेले भने दिइनन् । उनले ओलीले आफूलाई कम्फर्टेबल हुने टिम बनाएको प्रतिक्रिया दिएकी छिन्। ‘पहिले प्रक्रियाबाट निर्वाचन भए अध्यक्ष कमरेडलाई काम गर्न त्यति धेरै सहज नहुने खालको मानिस पनि निर्वाचित हुन सक्थे होला’, उनी भन्छिन्, ‘अहिले अध्यक्षले आफूलाई सहज हुने टीम बनाउनुभएको छ। एमालेलाई पहिलो पार्टी बनाउन सहज टीम सेलेक्सन गर्नुभएको छ।’

त्यस्तै पदाधिकारी लिष्टमा नपरेपछि लालबाबु पण्डितले सक्रिय राजनीतिबाट विदा लिने घोषणा नै गरिसकेका छन्। उपाध्यक्षका आकाँक्षी रहेका नेता पण्डित ओलीको सर्वसहमतिको लिष्टमा नपरेपछि असन्तुष्ट बनेका थिए। पछिल्लो समय ओलीलाई साथ दिएका नेता पण्डितले सामाजिक सञ्जालमार्फत सक्रिय राजनीतिबाट विदा लिने घोषणासमेत गरेका छन्। केपी ओलीले केन्द्रीय सदस्यमा सिफरिस गरेको भए पनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका हुन्। ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण बिजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना’, नेता पण्डितले भने, ‘अब संगठित सदस्य भएर बस्छु त्यो पनि रहन दिएनन् भने त्यो पनि त्यागिदिन्छु।’

नवौं महाधिवेशनमा माधव नेपाल समूहबाट उपाध्यक्षमा चुनाव लडेका नेता पण्डितले पराजित भएका थिए। मोरङमा डा.शेखर कोइरालालाई चुनाव हराएका पण्डित एमालेका पुराना एवं त्यागी नेतामध्ये एक हुन् । सामान्य प्रशासनमन्त्री हुँदा डिभी भर्ने कर्मचारीमाथि कडारुपमा प्रस्तुत भएका पण्डित एमालेका लोकप्रिय नेतामध्ये एक मानिन्छन्।

पूर्वमन्त्रीसमेत रहेकी राधा ज्ञवाली पनि ओलीको पदाधिकारीमा लिष्टमा परिनन्। पदाधिकारीमा महिलाको एक तिहाइको हिसाबले सम्मानजनक सहभागिताका लागि लबिङ गरेकी नेता ज्ञवाली लिष्टमा नपर्दा असन्तुष्ट छिन्। एमालेको विधानमा भएको व्यवस्था बमोजिम उनी अर्को महाधिवेशनमा चुनाव लड्न पाउने छैनन्। त्यसैले उनी पदाधिकारीमा आउन चाहेकी थिइन्। तरपनि ओलीले उनलाई समेट्न सकेनन्। निर्वाचनअघि पदाधिकारीमा नसमेटे चुनाव लड्ने बताएकी ज्ञवालीले उम्मेदवारी भने दिइनन्। 

अचम्म त यो छ की केपी ओलीसँगै १७ वर्ष जेल बसेका पुराना नेता नरेश खरेल पनि ओलीको लिष्टमा परेनन् । २०३३ सालमा नख्खु जेल ब्रेक गरका नेता खरेल लिष्टमा नपर्दा ओलीले २०५४ सालको रिसिइबी साधेको रुपमा समेत लिएका छन्। जिल्ला विकास समितिको निर्वाचनमा एमालेको आधिकारिक उम्मेदवार थिए खरेल । तर आफूनिकट अर्जुन राईलाई अघि सारेर चरम गुटवन्दी गरेको ओलीमाथि आरोप छ। आफ्नो आलोचना गरेको तुस पोख्‍न खरेलका विरुद्ध राईलाई उचालेर ओलीले पार्टी पद्धति र संस्थागत निर्णयलाई त्यतिबेलै चुनौती दिई विभाजनको बिउ रोपेको नेताहरुको दाबी छ। तिनै नेता खरेलले ओलीको लिष्टमा नपरे पनि केन्द्रीय सदस्यमा उम्मेदवारी भने दिएका छन्। 

ओलीको हरकदममा हातमा हात मिलाएर साथ दिएका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई ओलीको सूचिमा परेनन् । यसअघि केन्द्रीय सदस्य भइसकेका भट्टराई यसपटक ओलीले जारी गरेको सूचीमा नपरेपछी धेरैले यसलाई आश्चर्यकाे रुपमा लिए। 

लिस्टमा नपरेपछि भट्टराईले ओलीसँग असन्तुष्टी पनि जनाएका थिए । तर सार्वजनिक रुपमा भने उनले नेतृत्वकै सल्लाहमा आफू केन्द्रीय समितिमा नआएको अभिव्यक्ति दिएका छन् । स्रोतकाअनुसार ओलीले भट्टराईलाई प्रदेश १ को अध्यक्ष बनाउने आश्वासन दिएका छन् । उनी प्रदेश अध्यक्ष बनेमा केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् । 

भट्टराईले ओली र नेतृत्वकै सहमतिमा आफू लिष्टमा नपरेको बताएका छन्। ‘खासमा पार्टी अध्यक्ष , महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी दिने भन्नुभएको छ’, भट्टराई भन्छन्, ‘म यसैपनि संसदीय दलको प्रमूख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु,  अब थप सशक्त  भूमिका सहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु।’

उनले केन्द्रीय सदस्यमा नपर्दैमा आफ्नो भूमिका कमजोर नहुने बताउदै कोही पनि चिन्तित नहुन आग्रहसमेत गरेका छन् । ‘यही कारणले मात्र मेरो भूमिका खुम्चिँदैन, म कमजोर बन्दिन्’, उनले भने ‘नेपाली राजनीतिमा मेरो सानो-ठूलो भूमिका  अनवरत रहिरहनेछ । कोही खुसी नहुन कोही चिन्तित नहुन विनम्रतापूर्वक आग्रह गर्दछु ।’

पुराना नेतामध्ये मानिन्छन् मोरङका घनश्याम खतिवडा। ओलीनिकट मानिने खतिवडा पनि केन्द्रीय सदस्यमा परेनन्। मोरङका घरानियाँ व्यापारी मोती दुगडको नाम पर्दा मोरङ क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्वाचित सांसद खतिवडालाई भने ओलीले केन्द्रीय सदस्य बनाउन चाहेनन्।
यस महाधिवेशनमा अर्को चर्चित नाम हो पर्वतका पदम गिरी । अखिलबाट उदाएका नेता गिरी यसपटक नवप्रदेशकी केन्द्रीय सदस्यका रुपमा चर्चामा थिए । एमालेबाट प्रत्यक्ष निर्वाचित सांसदहरुमध्ये सबैभन्दा कान्छो उमेरका नेता गिरी ओलीको लिस्टमै नपर्दा छुटे । उनले पनि ओलीलाई भेटेर असन्तुष्टी पोखेका थिए। स्रोतकाअनुसार उनलाई ओलीले मनोनयन गर्ने आश्वासन दिएका छन्। 

त्यस्तै प्रदेश नम्बर २ बाट सुमन प्याकुरेलको नाम ओलीको लिष्टमा परेन। उनले ओलीले जारी गरेको सर्वसम्मतिको लिष्टमा आफ्नो नाम नपरेपछि आश्चर्यचकित भएर असन्तुष्टि जनाएका थिए। सर्वसम्मतिको लिष्टमा नपरे पनि उनले उम्मेदवारी मनोनयन दर्ता गराए र अहिले उनी पुरुष खुलामा सर्वसम्मत निर्वाचित भएका छन् । 

जारी महाधिवेशन आयोजक जिल्ला चितवनका पूर्वअध्यक्ष तथा प्रत्यक्ष निर्वाचित सांसद कृष्णभक्त पोखरेल पनि लिष्टमा परेनन्। केन्द्रीय सदस्यका लागि आश्वासन दिइएका कारण पोखरेलले पार्वती रावललाई जिल्ला अध्यक्ष हस्तान्तरण गरेका थिए। रावल ओली समूहकी हुन्। तर, महाधिवेशनमा ओलीले धोका दिएको भन्दै पोखरेलले असन्तुष्टि जनाएका छन्। अखिलका पूर्व अध्यक्षहरु योगेश भट्टराई, स्व. रवीन्द्र अधिकारीका समकालिन शिव गुरुङ पनि लिष्टमा परेनन्। पार्टीको संघीय मामिला विभागका सचिव रहेका गुरुङ नवौँ महाधिवेशनमा थोरै मतले पराजित भएका थिए । 
प्रेस चौतारी नेपालका पूर्वअध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याल पनि केन्द्रीय सदस्यको सर्वसम्मत सूचीमा परेनन्। विष्ट नवौँ महाधिवेशनमा माधव नेपालको प्यानल सूचीको गृहकार्यमा नाम रहेर पनि उम्मेदवारी दर्ता गर्दा अन्तिममा सूचिबाट हटाइएका थिए। 

त्यस्तै अखिलका पूर्व उपाध्यक्ष तथा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण सदस्य पनि सूचीमा परेनन्। त्यस्तै पूर्वअध्यक्ष ऐन महर, पूर्व उपाध्यक्ष रश्मी आचार्य, युवा संघका पूर्वअध्यक्ष रमेश पौडेल र वचन सिंहको नाम पनि छुटेको छ। यस्तै सुरेन्द्र मानन्धर, बुद्धिकुमार राजभण्डारी, मानवीर राई, सोनाम ग्याल्जेन शेर्पा, कृपाशुर शेर्पा पनि सूचीबाट छुटेका छन् ।  

यी जुनियर जसले अवसर पाए 
अखिलका वर्तमान अध्यक्ष सुनिता बराल, युवा संघका पूर्वकोषाध्यक्ष गोविन्द थापा, युवा संघकै अध्यक्ष किरण पौडेल भने यसपटक नयाँ अनुहारका रूपमा केन्द्रीय सदस्य बनेका छन् । बराल र थापा ओलीकै गृहजिल्ला झापाका हुन् । ओलीनिकट र गृहजिल्लाकै भएकै कारण लामो समयदेखि पार्टीमा काम गरेका सिनियरलाई छाडेर जुनियरलाई केन्द्रीय सदस्य बनाएको उनीहरुलाई आरोप लागेको छ।

Skip This
Skip This
Logo