आजभन्दा १८ वर्ष पहिले रोल्पामा माओवादी सशस्त्र युद्धको दबदबाको थियो। त्यो समयमा रोल्पाका एमाले, काँग्रेस वा बाहेकका पार्टीले चुईंक्कसम्म गर्न पाउँदैनथे। त्यहीबेलामा दक्षिण रोल्पामा पर्ने नुवागाउँ क्षेत्रका एमालेजनहरु लुकी-लुकी सानोतिनो बैठक, भेला गर्दथे।
त्यही बैठक, भेलामा कक्षा ८ मा पढ्दै गरेकी फुच्ची केटी ईश्वरी जिएम (घर्ती मगर) सहभागी हुन्थिन्। दक्षिण रोल्पा एमालेको पकड रहेको क्षेत्र थियो। माओवादीको दमनका कारण उनीहरु दुलोभित्र लुकेका मुसाजस्तै बनेका थिए। तर त्यही डरका बाबजुद पनि एउटा राजनीतिक मूना पलाइरहेको थियो।
त्यही मूना नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको छ। यो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला तर्फबाट) मा निर्वाचित ईश्वरी जिएम एमालेको सबैभन्दा कान्छो सदस्य हुन्। एमालेको अध्यक्षमा ७० वर्षीय केपी शर्मा ओली निर्वाचित भइरहँदा ३२ वर्षीया युवती ईश्वरी जिएम केन्द्रीय सदस्य बनेकी हुन्। उनी निर्विरोध निर्वाचित भएकी हुन्।
२०४६ सालमा रोल्पा नुवागाउँको दहबनमा जन्मिएकी उनी नवौं राष्ट्रिय महाधिवेशनमा पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि आएकी थिइन्। एमालेमा ४० वर्षमुनिका सीमित महिलाहरू मात्र केन्द्रीय सदस्यमा अवसर पाइरहेका बेला ईश्वरीले कान्छो सदस्यका रुपमा प्रवेश पाउन सफल भएकी छिन्।
रेडियो रोल्पा स्थापनामा महत्वपूर्ण भूमिका खेलेकी उनी प्रेस चौतारी रोल्पा शाखाको अध्यक्ष तथा नेपाल पत्रकार महासंघ रोल्पाको सचिवसमेत भएकी थिइन्। ईश्वरी महासंघको सचिव रहेकै बेला पत्रकारिता छाडेर पूर्णकालीन राजनीतिमा लागेकी थिइन्।
माओवादी युद्धकालमा रोल्पामा भूमिगत शैलीमा एमालेको संगठन विस्तार गर्न मेहनत गरेकी ईश्वरीले सक्रिय राजनीतिमा लागेको १६ वर्षमै केन्द्रीय कमिटीमा पुग्ने मौका पाइन्। केन्द्रीय सदस्य भएपछी आफूमाथि ठूलो जिम्मेवारी र चुनौती थपिएको छोटो प्रतिक्रिया दिइन्।





























प्रतिक्रिया