नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वाग्मती प्रदेशको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ। शनिबार भएको मतदानमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको हो।
निर्वाचन समितिका अनुसार शनिबार भएको मतदानमा वाग्मती प्रदेश सभापति पदका उम्मेद्वार इन्द्र बानियाँले ९९२ र उनका प्रतिस्पर्धीहरू जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाएका छन्। अब पहिलो र दोस्रो बढी मत ल्याउने उम्मेद्वारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ।
शनिबार हेटौँडामा भएको मतदानमा कुल दुई हजार १५१ मध्ये दुई हजार ८३ मत खसेको थियो। शनिबार रातिदेखि मतगणना सुरु गरिएको थियो। कांग्रेसको संघीय विधानानुसार शनिबार पहिलो पटक प्रदेश अधिवेशन भएको हो। अधिवेशनबाट पदाधिकारीतर्फ प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्री निर्वाचित हुनेछन्।





























प्रतिक्रिया